विद्युत प्रसारण लाइन

कर्णाली प्रदेशको विद्युत समस्या समाधानका लागि १३२ केभी आयोजना अघि बढाइएको थियो । तर लामो समय चर्चामा रहेर पनि निर्माणमा ढिलाइ भयो । तर पछिल्लो समय काम धमाधम भइरहेको छ । प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सुर्खेतसहित कर्णालीको विद्युत अपुगको समस्या समाधानका लागि कोहलपुर–सुर्खेत १३२ कभी प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको हो । अबको १५ दिनमा प्रसारण लाइन सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ । अब आयोजनाअन्तर्गत राष्ट्रिय निकुञ्जमा एक किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको छ । अन्य सम्पूर्ण काम सकिएको छ । कुहिरो लागिरहने हुँदा तार तान्ने काममा बिलम्व भएको बताइएको छ ।

यसअघि माघ १ गतेदेखि प्रसारण लाइन सञ्चालनको तयारी भए पनि हर्रे क्षेत्रमा लाग्ने कुहिरोका कारण तारतान्न सकिएको छैन । अब मौसम खुल्ने बित्तिकै एक किलोमिटरमा तार तान्ने र परीक्षणको काम गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केहीदिनअघि कर्णाली आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका थिए । कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दैे ढिलामा १५ दिनभित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन समेत दिएका थिए । तार तान्ने काम बाँकी रहेकाले बिलम्व भएको छ । कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो । मौसमका कारणले केही सानो काम बाँकी रहँदा तोकिएकै मितिमा विद्युत प्रसारण लाइन सञ्चालनमा आउन भने सकेन । यद्यपि अबको दुई साताभित्र विद्युत सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको छ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । तर सुरुवातमा विवदामा अल्झिदा कामले गति लिन सकेन । जसका कारण आयोजनाको म्याद पटक–पटक थपिएको थियो । २०८० चैतमा सकिएको आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थपिएको थियो भने पछिल्लो समय २०८२ माघसम्मका लागि समय थपिएको थियो । अहिले अन्तिम चरणको काम भइरहेको छ । प्रशारण लाइनको परीक्षणको काम बाँकी छ । अब एक किलोमिटर तार तान्ने र परीक्षणको काम मात्र बाँकी रहेको हो । अन्य सबै विवाद समाधान भएपछि धमाधम काम भइरहेको छ । जसका कारण अबको दुई साताभित्र प्रसारण लाइन नै सञ्चालनमा आउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   ६ माघ २०८२, मंगलवार ०५:०३