बाघको त्रासमा बस्ती
सुर्खेत: पुस २२ गते मंगलवार सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानी क्षेत्रमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भयो । वडा नं. ५ गेरुवानीकी ५७ वर्षीय गंगादेवि सारुलाई बाघले आक्रमण गरेको थियो ।
२३ गते बिहान ९ बजेतिर उनका दुई जना नातिनी बाख्रालाई घाँस काट्न भनेर घरदेखि करिब एक सय मिटर उत्तर सालघारीमा गएका थिए । सोही क्रममा उनीहरूले सालघारीमा गंगा सारुले लगाएका कपडा, चप्पलसहित रगतका टाटा भेटे । खोजतलास गर्दै जाँदा सो स्थानबाट करिब ६ सय मिटर पूर्वतर्फ गंगाको टाउको मात्रै भेटियो । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको थियो । उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त गाउँ शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ ।
यस्तै पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि बाघकै आक्रमणबाट मृत्यु भयो । सल्यानको कालिमाटी, सुर्खेतको भेरीगंगाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । त्यसको तीन दिनपछि पुस २९ गते मंगलवार कालिमाटीकै ८ नम्बर वडामा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई बाघले आक्रमण ग¥यो । उनी घाइते भए ।
यसरी एकपछि अर्को गर्दै बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा त्रसित बनेका छन् । पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको र मानिसहरूलाई आक्रमण गरिरहेको छ । जसका कारण निकुञ्ज क्षेत्रका नागरिकमा बाघको त्रास रहेको भेरीगंगा नगरपालिका वडा नं. ५ का गंगबहादुर घर्तीले बताए । ‘बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएका जङ्गलहरूमा अचेल दैनिकजसो बाघ देखिने गरेको छ,’ उनले भने, ‘बाघको त्रासबाट स्थानीय त्रसित छन्, एक्लै घरबाट निस्कन पनि समस्या हुने गरेको छ ।’
भेरीगंगा नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष प्रेमबहादुर सारुमगरका अनुसार भेरीगंगामा एक महिलाको आक्रमण भइ मृत्यु भयो भने बाघले दुई वटा घर पालुवा गाई–गोरुलाई समेत आक्रमण गरेर मारेको छ । निकुञ्ज आसपासका बस्तीहरूमा हरेक वर्षजस्तो मानिसहरू बाघका आक्रमण पर्ने गर्दछन् । कहिले गाईवस्तु त कहिले मानिस नै बाघबाट आक्रमणमा पर्ने गरेका हुन् ।
बाघको आक्रमणबाट केहीवर्षअघि भेरीगंगा नगरपालिका–५ गेरवानीमा दुई जनाको ज्यान गएको थियो । शक्ति सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा उनीहरूको ज्यान थियो । २०७९ मा यो घटना भएको हो । भेरीगंगा नगरपालिका –५ गेरुवानि गाउँका ४६ वर्षीय रामबहादुर चन्द र ६६ वर्षीय महिला कवि ओलीको ज्यान गएको थियो । बर्सेनि रूपमा मानिसहरूलाई बाघले आक्रमण गरिरहेको छ ।
बाघले आक्रमण गरी आतङ्क फैलाएको भन्दै भेरीगंगा नगरपालिकाले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्ने जनाएको छ । मध्यवत्र्ती क्षेत्र स्थानीय सरकारको मातहतमा हुनुपर्ने माग स्थानीयले राखेका छन् । दिनप्रतिदिन बाघले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । अहिले मानवीय संरक्षणका लागि के गर्न सकिन्छ भनेर विभिन्न सरोकारवालाहरूसँग छलफल भइरहेको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । भेरीगंगा नगरपालिकाका वडा नं. १, २, ३, ४ र ५ मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । लेकपराजुल उपभोक्ता समिति, छिञ्चु उपभोक्ता समिति र चेपाङ्ग उपभोक्ता समिति बाघ आक्रमणबाट बढी त्रसित बनेका छन् । अहिले घरबाहिर निस्कनसमेत त्रसित बनिरहेका छन् । जोखिम बस्तीलाइ स्थान्तरण गर्नेगरी छलफल समेत भइरहेको छ । नगरपालिकाले कानुन सशोधन गरेर जोखिम न्यूनिकरण गर्ने जनाएको छ ।
प्रकाशित मितिः ४ माघ २०८२, आईतवार ११:४६

साझा बिसौनी ।