६ महिनामा १३ प्रतिशत बजेट खर्च

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा १३.७४ प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगत बजेट खर्च न्यून छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । जसमध्ये यो ६ महिनामा चार अर्ब ५३ करोड ३४ लाख ३३ हजार रूपैयाँ अर्थात् कुल बजेटको १३.७४ प्रतिशत खर्च भएको छ ।

चालुतर्फ करिब २४ प्रतिशत खर्च गरिएकोमा पुँजिगत खर्च भने करिब आठ प्रतिशत छ । चालुतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रूपैयाँ विनियोजन भएकोमा हालसम्म दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार अर्थात् २३.८३ प्रतिशत खर्च भएको छ । सरकारले पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रूपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये एक अर्ब ५७ करोड ९० लाख तीन हजार रूपैयाँ मात्रै कार्यान्वयन भएको छ ।

मन्त्रालयगत रूपमा हेर्दा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय ६ महिनामा १०.७५ प्रतिशत खर्च गरेको छ । ११ अर्ब एक करोड २१ लाख बजेट पाएको मन्त्रालयले एक अर्ब १८ करोड ४३ लाख रूपैयाँ मात्र खर्च गरेको छ ।

तीन अर्ब ८३ करोड बजेट पाएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अहिलेसम्म ७.९७ प्रतिशत अर्थात् ३० करोड ५० लाख रूपैयाँमात्रै कार्यान्वयन गर्न सकेको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयले पाँच अर्ब ७७ करोड ५६ लाखमध्ये एक अर्ब पाँच करोड ५२ लाख खर्चिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ४२ करोड ७९ लाखमध्ये ३७ करोड चार लाख मात्रै खर्च गर्न सकेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २४ करोड १० लाख, आर्थिक मामिला मन्त्रालयले ६ करोड १५ लाख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात करोड ५८ लाख रूपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मितिः   ४ माघ २०८२, आईतवार ११:४८