सदस्य सचिवका लागि सिफारिस
सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूबाट छनोट गरी शनिवार अन्तर्वार्ता सञ्चालन गरेको थियो । अन्तर्वार्तामा सहभागी १० जना उम्मेदवारमध्येबाट मूल्यांकनका आधारमा तीन जनाको नाम सिफारिस गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सदस्यसचिव छनोटसम्बन्धी मापदण्ड, २०८२ अनुसार शैक्षिक योग्यता, अनुभव, प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट प्राप्त अंकका आधारमा योग्यताक्रम कायम गरी नाम सिफारिस गरिएको हो । सिफारिस सूचीअनुसार योग्यताक्रममा रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल छन् ।
सदस्य सचिव सिफारिस समितिका सदस्य–सचिव जवाहरलाल हमालका अनुसार समितिको सिफारिस सामाजिक विकास मन्त्रालयमार्फत कर्णाली प्रदेश सरकारसमक्ष पेस गरिसकिएको छ । अब मन्त्रिपरिषद्को बैठकले तीन जनाबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।
एक वर्षदेखि परिषद्को सदस्य सचिव पद रिक्त थियो । यसअघिका सदस्य सचिव विश्वामित्र सञ्ज्यालको कार्यकाल २०८१ पुसमा समाप्त भएको थियो । उनी २०७७ मा नियुक्त भएका थिए । परिषद्ले एक वर्षपछि नयाँ सदस्य सचिव पाउने भएको छ ।
प्रकाशित मितिः ४ माघ २०८२, आईतवार ११:४८
साझा बिसौनी ।