मह प्रशोधन उद्योग स्थापना

 

सुर्खेत: कर्णाली प्रदेशमा मह प्रशोधन केन्द्र स्थापना गरिएको छ । वीरेन्द्रनगर–१२ बिरुवाबारीमा ‘गोल्ड कर्णाली हनी’ नामाकरण गरेर कर्णाली मह प्रशोधन साझा सुविधा केन्द्रमार्फत सञ्चालन गर्नेगरी स्थापना गरिएको हो ।

नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले इन इलम परियोजनाअन्तर्गत हेल्भेटास नेपालसँगको सहकार्यमा मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । महासंघका अध्यक्ष लिलाराम ढकालले ठूलो क्षमताको मह प्रशोधन उद्योग सञ्चालन गरेपछि किसानलाई सुविधा पुगेको बताए । उनले कृषकको उत्पादनलाई सहज बजारीकरण गर्न र महको शुद्धता कायम भइ मूल्यमा एकरूपता कायम गर्न आफूहरूले मह प्रशोधन उद्योग सञ्चालनमा ल्याएको जनाए । उद्योगले एकैपटक पाँच सय केजी मह प्रशोधन गर्नेछ । कर्णालीमा साना खालका उद्योग थिए, पहिलोपटक ठूलो क्षमताको उद्योग स्थापना गरिएको छ ।

उद्योगको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताए । उनले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताए ।

प्रदेशमा मह प्रशोधन केन्द्र स्थापना भएसँगै बजारमा यसको गुणस्तरसहित बिक्री–वितरणमा थप टेवा पुग्ने उनको विश्वास रहेको छ । कर्णालीका दशवटै जिल्लामा महको व्यावसायिक उत्पादनका लागि कृषकहरूलाई प्रोत्साहनका कार्यक्रम समेत राखिएको भन्दै उनले मानिसको जीवनसँग जोडिएको मौरी पालनलाई क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको मन्त्री शाहको भनाई थियो । जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले सबै क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गरे ।

 

 

प्रकाशित मितिः   २३ पुष २०८२, बुधबार ०९:४१