उम्मेदवार सिफारिसमै पर्दैनन् महिला
सुर्खेत: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गर्दैछन् । यतिबेला सबैजसो दलका तल्ला कमिटीबाट उम्मेदवारहरू सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ । विगतका चुनावमा जस्तै यसपटक पनि प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा महिलाहरू उपेक्षामा परेका छन् ।
अहिलेसम्म सिफारिस भएका उम्मेदवारहरूको सूची हेर्दा महिलाको संख्या नगन्य छ । समानुपातिकतर्फ महिला उम्मेदवार अनिवार्य गरिएकाले बाध्यात्मक भएपनि प्रत्यक्षमा भने सबैजसो दलहरूले पुरुषहरूलाई नै अघि सारेका छन् ।
नेकपा (एमाले) ले सुर्खेतका दुइवटै निर्वाचन क्षेत्रबाट पुरुष उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट ध्रुवकुमार शाही र क्षेत्र नं. २ बाट कुलमणी देवकोटाको एकल नाम सिफारिस गरिएको हो । जसले गर्दा प्रत्यक्षतर्फ महिलाहरू उम्मेदवार सिफारिसमा समेत अट्न सकेनन् । त्यसो त यसअघि पनि एमालेले दुवै क्षेत्रबाट पुरुष उम्मेदवार नै उठाउँदै आएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसले पनि महिलालाई समेट्न सकेन । कांग्रेसले क्षेत्र नं. १ बाट पार्टी उपसभापति समेत रहेका पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट ६ जना सिफारिस हुँदा एकजना महिला सिफारिस गरिएको छ, अन्य पाँच जना पुरुष छन् । निवर्तमान सांसद हृदयराम थानीसहित नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सिफारिस गरिएको हो ।
एमाले र कांग्रेसले मात्रै होइन नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले पनि सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार बनाउने भएको छ । नेकपाले क्षेत्र नं. १ का लागि जितबहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्ललाई उम्मेदवार सिफारिस गरेको छ । दुवैको एकल नाम सिफारिस गर्दा महिला आकांक्षीहरू सिफारिसमै पर्न सकेनन् ।
सुर्खेतका साथसाथै अहिलेसम्म उम्मेदवार सिफारिस भइसकेका कर्णाली प्रदेशका सबैजसो क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले पुरुषलाई नै अघि सारेका छन् । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह सल्यानबाट एकल सिफारिस भएका छन् भने दैलेखको क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि पाँच जना सिफारिस गर्दा चार जना पुरुष र एक जना महिला परेका छन् ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार छनोटका लागि एमालले निर्वाचन गरेको थियो । प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवार छनोटका लागि भएको निर्वाचनमा चारै जना पुरुषबीच प्रतिस्पर्धा भएको थियो । जसबाट सर्वाधिक मतसहित विष्णु रिजाल सिफारिस भएका छन् ।
यसरी सार्वजनिक भइरहेका उम्मेदवारको विवरण हेर्दा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवार शून्य हुने देखिन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले उम्मेदवार हुने चाहना गरे पनि दलले नै उम्मेदवारीका लागि टिकट नदिएको गुनासो महिला नेतृहरूको छ । नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडि परेको उनीहरू बताउँछन् । पुरुषले महिलालाई अगाडि बढ्न नदिने र नेतृत्व आफ्नै हातमा लिने प्रवृत्तिले गर्दा अझैपनि महिलाले अवसर पाउन नसकिरहेको एमालेकी केन्द्रीय सदस्य पदमा खड्काले बताइन् । निर्वाचनमा नेतृत्व गर्नका लागि योग्य र सक्षम हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर महिलाको उम्मेदवारीलाई खारेज गरी टिकट लिने गरिएको जनाइन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य जानकी सिंहले महिलाहरू नेतृत्वमा पुग्न अब्बल रहेको भएपनि पर्याप्त अवसर नपाएको बताउँछिन् । अहिले पार्टीले ३३ प्रतिशत अनिवार्य गरेकाले कतिपय ठाउँबाट महिलालाई नै सिफारिस गरेर पठाएको उनले जनाइन् । उनले भनिन्, ‘अवसर पाएको खण्डमा महिला काम गर्न सक्छन्, यो निर्वाचनमा पनि अनिवार्य महिला आउनुपर्छ भनेर आवाज उठाएका छौँ, अन्तिममा कस्को नाम सिफारिस भएर आउछ, हेर्न बाँकी छ ।’
प्रकाशित मितिः २३ पुष २०८२, बुधबार ०९:३८

साझा बिसौनी ।