शैक्षिक सुधार योजना

कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सार्वजनिक शिक्षामा सुधार गर्ने योजना बनाएको छ । सार्वजनिक शिक्षामा सुधार गरी नतिजामुखी बनाउने बताइएको छ । विशेष गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को खस्कदो नतिजालाई सुधार गर्न ‘एसईई विद्यार्थी डिजिटल शिक्षा सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ । शिक्षालाई नतिजामुखी बनाउँदै गुणस्तर अभिवृद्धि गर्न कक्षा १० का विद्यार्थी लक्षित ‘एसईई विद्यार्थी डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको हो । विद्यार्थीलाई पढाइमा थप पृष्ठपोषण होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको जनाइएको छ । यो योजनाले अंग्रेजी, गणित, विज्ञान विषयलाई विशेष जोड दिइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन हुँदैछ ।

यस्तै, ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’लाई पनि निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उक्त विषय उल्लेख गरिएको छ । ‘२१औँ शताब्दीको प्रगतिशील शिक्षाको लागि डिजिटल शिक्षा’ विषयमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दुईवटा कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा १६ करोड बजेट विनियोजन गरिएको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ लाई निरन्तरता दिइएको प्रदेश सरकारले जनाएको छ । गत वर्षको पुस १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि–२०८१ स्वीकृत गरेको थियो । कार्यविधि स्वीकृत भएसँगै कार्यक्रम कार्यान्वयन गएको थियो । यो वर्ष पनि कार्यक्रम राखिएको छ । गतवर्ष प्रदेशका १३ वटा पालिकामा कार्यक्रम कार्यान्वयन भए । प्रदेशका १३ वटा पालिकामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । सरकारले नमुना विद्यालय कार्यक्रमको अवधारणा अघि सारेको थियो । केही विद्यालयसमेत छनोट गरिएको छ । ती छनोट गरिएका विद्यालयमा यो वर्ष मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम कार्यान्वयन गरिने भएको हो ।

पछिल्लो समय सार्वजनिक विद्यालय शिक्षामा सुधार भइरहेको छ । वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुधार गरेको थियो । २०८० सालको एसइईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ४२ भएकोमा गतवर्ष १४ प्रतिशतले सुधार गरी ५६.७८ प्रतिशत भएको हो । कर्णालीले एसइईमा सुधार गरे पनि राष्ट्रिय उत्तीर्ण प्रतिशत भने भेट्टाउन सकेन । मुलुकभर कुल ६१.८१ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय उत्तीर्ण प्रतिशतभन्दा कर्णाली अझै पाँच प्रतिशतले तल छ । अघिल्लो वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३१ हजार सात सय ७३ जना परीक्षार्थीले एसइई दिएका थिए । जसमध्ये १८ हजार ४२ जना उत्तीर्ण भए । यो वर्ष शतप्रतिशत नतिजा सुधार गर्नका लागि सोही अनुरूपका कार्यक्रम कार्यान्वयन गरिएको गर्न लागिएको छ ।

प्रकाशित मितिः   २३ पुष २०८२, बुधबार ०९:४२