पहुँच विस्तार
कर्णाली प्रदेशको पूर्वाधार विकासमा उल्लेख्य प्रगति भइसकेको छैन । अन्य प्रदेशको तुलनामा कमजोर नै छ । विगतको तुलनामा पूर्वाधार विकास भएपनि अझै पनि कतिपय पूर्वाधार निर्माणको गति सुस्त छ । कर्णाली विद्युत पहुँचका हिसाबले पनि पछि छ । यहाँका अधिकांश बस्ती बिजुलीविहीन छन् । बिजुली पुगेका स्थानमा पनि पर्याप्त र नियमित छैन । प्रदेशको राजधानी वीरेन्द्रनगरमै पर्याप्त विद्युत उपलब्ध भइसकेको छैन । वि.सं. २०४५ सालमा विस्तार गरिएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन नै यहाँको विद्युत आपूर्तिको एक मात्र विकल्प हो । जुन यहाँका लागि अपर्याप्त छ ।
वीरेन्द्रनगरमा दिनप्रति दिन जनसंख्या बढ्दै छ । उद्योगधन्दाको संख्यामा वृद्धि भएको छ । विकास निर्माणका गतिविधि बढ्दै छन् । यसले विद्युतको माग पनि बढ्दो नै छ । तर क्षमता थप नहुँदा समस्या हुने गरेको छ । कर्णालीमा औद्योगिक विकास अपेक्षाकृत रूपमा हुन नसक्नुका प्रमुख कारणहरूमध्ये एक विद्युत अभाव पनि हो । जलविद्युत उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि अन्धकारमा बस्नुपर्ने कर्णालीबासीको बिडम्वनापूर्ण अवस्था रहीआएको छ । यो समस्या समाधानका लागि दुई वटा विकल्प छन् । एउटा, अहिलेको विद्युत क्षमता विस्तार गर्ने । अर्को, यहीँको स्रोतलाई उपयोग गर्दै विद्युत उत्पादन गर्ने । विद्युत उत्पादन तत्काल र सजिलै गर्न सकिने काम होइन । यसका लागि समय लाग्छ । सुरु भएकै आयोजना पनि समयमै सम्पन्न नभएका थुप्रै उदाहरण हाम्रैसामु छन् । त्यसैले सकेसम्म तत्कालका लागि राष्ट्रिय प्रसारणलाइन विस्तार भएका ठाउँमा क्षमता विस्तार गर्न सकिन्छ । कोहलपुर–सुर्खेत १३२ केभी पनि त्यसैको एक उदाहरण हो । यो आयोजना सम्पन्न भएमा सुर्खेतका आम नागरिकसँगसँगै यहाँको औद्योगिक क्षेत्रले समेत लाभ लिनेछ ।
लामो समय लागेपनि १३२ केभी प्रसारण लाइन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । माघको पहिलो हप्तासम्म काम सम्पन्न गर्नेगरी अघि बढिरहेको छ । यो योजना कार्यान्वयनमा आए सुर्खेतमा विद्युत अभावको समस्या निराकरण हुने अपेक्षा गरिएको छ । लामो समयदेखि चर्चामै सीमित भएको १३२ केभी विस्तार योजना कार्यान्वयन गर्न यहाँका स्थानीय सरकारदेखि प्रदेश सरकार र जनप्रतिनिधिहरूको भूमिका पनि महङ्खवपूर्ण छ । उनीहरूको प्रतिबद्धता र दबाबमूलक पहलले मात्रै आयोजना अघि बढाइएको छ । पछिल्लो पटक एक वर्ष म्याद थप गरेर भएपनि काम अघि बढाइएको छ । विवादसमेत समाधान भइसकेकाले अब आयोजनाले पूर्णता पाउने अपेक्षा गर्न सकिन्छ । यो आयोजनाले सुर्खेतसहित कर्णालीमा राष्ट्रिय विद्युतको पहुँच विस्तार गर्ने छ ।
प्रकाशित मितिः १४ पुष २०८२, सोमबार १०:२२
सम्पादकीय ।