आस्था र सौन्दर्यको संगमः महाबु धाम

भरत बन्धु थापा: 

दैलेख र कालीकोट जिल्लाको सिमानामा अवस्थित महाबु धाम कर्णाली प्रदेशकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो । भगवान् शिवसँग सम्बन्धित यस पवित्र धाम धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानको अनुपम संगमका रूपमा परिचित छ । खुल्ला आकाशमा अवस्थित महाबुमा हरेक वर्ष हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन् ।

समुद्र सतहबाट करिब चार हजार दुई सय १६ मिटर उचाइमा अवस्थित महाबु धाम हरियाली वन, खुला चौर, शीतल हावापानी र शान्त वातावरणले भरिएको छ । यहाँ पुग्दा आत्मिक शान्ति प्राप्त हुने गहिरो विश्वास रहिआएको छ । विशेषगरी साउने सोमवार, शिवरात्रि तथा वार्षिक धार्मिक मेलाका अवसरमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । दैलेखको धार्मिक पहिचान बोकेको यो धाम आस्था, प्रकृति र संस्कृतिको सुन्दर संगम हो ।

 

परिवारसँगै गरिएको अविस्मरणीय यात्रा

२०४७ सालमा पहिलो पटक महाबु धाम पुगेको स्मृति आज पनि मनभित्र उस्तै ताजै छ । त्यसबेला बुबा प्रेमबहादुर थापाको जागिरको सिलसिलामा दैलेख सदरमुकामबाट जुम्लातर्फ पैदल यात्रा हुँदै जाँदा, दोस्रो दिन महाबु धाम पुगेका थियौँ । कच्चा बाटो, थकित शरीर तर मनभित्र अद्भुत आस्था–त्यो यात्राले बालमनमै महाबुको गहिरो छाप छोडेको थियो ।

त्यसपछि करिब १३ वर्षअघि घोडाबाससम्म सवारी साधन र त्यसपछिको पैदल यात्राबाट फेरि महाबु पुगेको सम्झना छ । त्यतिबेला पनि दुई दिन लागेको थियो । यात्रा कठिन थियो तर श्रद्धाले थकानलाई जितेको थियो ।

तर यो पटक मंसिर महिनाको अन्तिम साता महाबु धाम दर्शन गरेर दैलेख फर्किन पाउँदा अनुभूति बिल्कुल फरक थियो । यसपटक म बुबा, मम्मी, भाइसँगै ठूलो बुबा र ठुलो मम्मीसँग थिएँ । दैलेख आइपुग्दा नै मन अनौठो ढंगले प्रफुल्लित भएको थियो । परिवारसँगै पवित्र तीर्थयात्रामा निस्कँदा यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा रहेन, यो त मनको शान्ति र आत्मिक सन्तुलन खोज्ने यात्रा बन्यो ।

हरियाली डाँडाकाँडा, खुला निलो आकाश, शीतल हावाको स्पर्श र महाबु धामको आध्यात्मिक वातावरणले मनलाई शुद्ध र स्थिर बनाइदियो । बुबा–मम्मीसँगै बसेर गरिएको मौन प्रार्थना, भाइसँग बाँडिएका हाँसोका क्षणहरू यी सबै स्मृतिहरूले यो यात्रालाई जीवनभर सम्झनलायक बनाइदियो ।

समय फेरियो, बाटो फेरियो, यात्रा सहज भयो, तर महाबु धामप्रतिको श्रद्धा उस्तै रह्यो । सायद यही हो तीर्थयात्राको सार–जहाँ दूरी होइन, भावनाले अर्थ राख्छ र गन्तव्य होइन, सँगै हिँड्ने सम्बन्धले यात्रा पवित्र बनाउँछ ।

 

धार्मिक मान्यता र ऐतिहासिक पृष्ठभूमि

महाबु धामलाई भगवान शिवसँग सम्बन्धित अत्यन्त पवित्र स्थल मानिन्छ । जनश्रुतिअनुसार प्राचिनकालमा महर्षिहरूले यहाँ कठोर तपस्या गरेका थिए । ‘महाबु’ शब्द स्वयम् महान् तपस्या र शिव आराधनासँग जोडिएको मानिन्छ । शिव–पार्वतीको वासस्थानको रूपमा समेत महाबु धामलाई लिइन्छ ।

इतिहासकारहरूका अनुसार कर्णाली सभ्यताको विकासक्रममा महाबु धामले महŒवपूर्ण धार्मिक केन्द्रको भूमिका निर्वाह गरेको देखिन्छ । स्थानीय संस्कार, किंवदन्ती तथा वार्षिक धार्मिक मेलाले यसको ऐतिहासिक महŒवलाई अझ बलियो बनाएको छ ।

 

भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्य

महाबु धाम दैलेख, कालीकोट र जाजरकोट जिल्लाको संगम नजिकै पर्ने उच्च पहाडी भूभागमा अवस्थित छ । यहाँबाट हिमाली श्रृंखला, हरियाली पहाड, घना वन र विशाल खुला मैदानको दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुला भएको बेला यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्त मनमोहक हुन्छ ।

चिसो हावापानी, शान्त वातावरण र स्वच्छ प्राकृतिक परिवेशले आगन्तुकलाई गहिरो आध्यात्मिक अनुभूति प्रदान गर्दछ ।

 

सांस्कृतिक र सामाजिक महत्त्व

महाबु धाम केवल मन्दिर मात्र होइन, स्थानीय बासिन्दाहरूको सामाजिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको स्थल हो । वार्षिक मेलामा परम्परागत लोकसंस्कृति, नृत्य, भेषभूषा र खानपान प्रदर्शन गरिन्छ, जसले स्थानीय पहिचान संरक्षणमा महŒवपूर्ण भूमिका खेल्दछ ।

 

पर्यटन सम्भावना र चुनौती

महाबु धाममा धार्मिक पर्यटनसँगै, साहसिक यात्रा, पदयात्रा (ट्रेकिङ) र प्रकृति अध्ययनका लागि ठूलो सम्भावना रहेको छ । तर पहुँच मार्गको कठिनाइ, बासस्थानको अभाव, सूचना बोर्ड र प्रभावकारी प्रचार–प्रसार नहुनुले यसको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

महाबु धाम दैलेखको धार्मिक आस्थाको केन्द्र मात्र होइन, यो कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानको जीवन्त प्रतीक हो । उचित संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकास गर्न सके महाबु धाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक–पर्यटन गन्तव्य बन्ने पूर्ण क्षमता राख्दछ ।

 

 

प्रकाशित मितिः   १४ पुष २०८२, सोमबार १०:२८