औद्योगिक ग्राम योजना अलपत्र
औद्योगिक विकासका लागि सरकारले विभिन्न समयमा विभिन्न नीति र योजना ल्याउने गरेको छ । तर त्यसको कार्यान्वयन हुन नसक्दा त्यसरी ल्याइएका योजना अलपत्र पर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारले ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को अवधारणा ल्यायो । नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको थियो । यसका लागि सरकारले सुरुको आर्थिक वर्षमा प्रत्येक पालिकालाई ९२ लाख रुपैयाँ पठाएको थियो । तर ६ वर्षसम्म पनि औद्योगिक ग्राम निर्माण हुन सकेका छैनन् । सरकारले बजेट नपठाउँदा औद्योगिक ग्राम निर्माणको काम अधुरै रहेको स्थानीय तहहरूले बताएका छन् ।
सुर्खेतका स्थानीय तहमा पनि औद्योगिक ग्राम निर्माण कार्य प्रारम्भि भए । तर सुरुवात भइसकेका काम अहिले ठप्प भएका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ स्थित मायातालमा निर्माण थालिएको औद्योगिक ग्रामको काम रोकिएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माणको काम थालिएको थियोे । दश विगाह जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेरबार, शौचालय र प्रशासनिक भवन मात्रै निर्माण भएको छ । अन्य निर्माणको काम अघि बढ्न सकेको छैन । बजेट अभावले बाँकी काम हुन नसकेको हो । संघीय सरकारले समयमा नै बजेट नपठाउँदा काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा उक्त औद्योगिक ग्राम निर्माणका लागि एक करोड बजेट पठाएको थियो । जसमध्ये ८५ लाख बजेटमा घेरबार, शौचालय निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा बाँकी कामका लागि भन्दै संघीय सरकारले नै ८५ लाख बजेट पठाएको थियो । उक्त बजेटले एउटा प्रशासनिक भवन निर्माण गरिएको छ । पछिल्ला दुई आर्थिक वर्षमा संघीय सरकारले बजेट नै पठाएन । गत आर्थिक वर्ष २०८१/०८२ को अन्तिममा बजेट पठाएको थियो । उक्त बजेट कार्यान्वयन नै भएन । चालु आर्थिक वर्षको हालसम्म पालिकाले औद्योगिक ग्राम निर्माणका लागि बजेट नै पाएको छैन ।
चौकुनेमा मात्रै होइन सबैजसो स्थानीय तहमा निर्माण थालिएका औद्योगिक ग्रामको अवस्था अहिले उस्तै छ । अधिकांश पालिकाले डीपीआर तयार पारेर निर्माण कार्य सुरु प िगरिसकेका छन् । तर त्यसपछि भने बजेटको सुनिश्चितता हुन सकेको छैन । डीपीआर अनुसारको बजेट अपुग हुँदा औद्योगिक ग्राम निर्माणको कार्यान्वयनमा सुस्तता आएको छ । आवश्यक विद्युत, खानेपानी, शौचालय, सडक, प्रशासनिक भवनको निर्माण गर्न रकम अभाव भएको देखिन्छ । कर्णालीका अधिकांश पालिकामा ग्राम निर्माणको कामले पूर्णता पाउन सकेको छैन । औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको ६ वर्ष पूरा भइसक्दा पनि कर्णालीमा एउटा पनि सञ्चालनमा आउन सकेको छैन ।
प्रकाशित मितिः ८ पुष २०८२, मंगलवार ०५:०३
सम्पादकीय ।