ग्यास उत्पादनमा विलम्ब
लामो अध्ययनपछि दैलेखमा प्राकृतिक ग्यास रहेको पत्ता लाग्यो । चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरेको ड्रिलिङबाट एउटै कुवामा एक खर्ब १२ अर्ब घनमिटर (११२ क्युबिक किलोमिटर) प्राकृतिक ग्यास रहेको तथ्य फेला पारेको हो । यो परिमाण करिब ३९ लाख ५५ हजार मिलियन क्युबिक फिट बराबर हो । यद्यपि, दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनमा सरकारले विलम्ब गरेको छ । पाँच महिनाअघि नै चिनियाँ प्राविधिक टोलीले प्राकृतिक ग्यास रहेको पुष्टि गरेर प्रतिवेदन बुझाइसके पनि सरकारले त्यसको उत्पादन प्रक्रिया अघि बढाएको छैन ।
अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकास्थान र जलजले गरी चार स्थानलाई सम्भावित क्षेत्र मानिएको थियो । जलजलेको एक कुवाको नतिजालाई आधार मान्दा चारै क्षेत्रमा गरी चार खर्ब ३० अर्ब घनमिटर ग्यास हुन सक्ने प्रारम्भिक अनुमान छ । विज्ञहरुका अनुसार यो भण्डारले नेपालको ग्यास र इन्धनको माग ५० वर्षसम्म धान्न सक्छ । त्यसैगरी युरिया मल उत्पादन कारखाना सञ्चालन गर्न सकिनेदेखि खाना पकाउने ग्यास र यातायात सञ्चालन क्षेत्रमा प्रयोग गर्न सकिने निष्कर्ष निकालिएको छ । प्राकृतिक ग्यासबाट युरिया मल उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रासायनिक मल कारखाना नभएको हुँदा रासायनिक मल कारखाना निर्माण गर्नुपर्ने सुझाव दिएको छ । करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमता भएको ग्यासमा आधारित युरिया मल कारखाना सञ्चालन गर्न वार्षिक चार १० देखि ४५२ मिलियन घनमिटर ग्यास र दैनिक एक हजार ६९ देखि एक हजार एक सय २२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ । नेपालको कृषि क्षेत्रको लागि आवश्यक सात लाख मेट्रिक टन युरिया मलको माग पूरा गर्न प्रतिदिन करिब दुई हजार दुई सय मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिइएको छ ।
आर्थिक हिसाबले छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । तर स्रोत फेला परेपनि त्यसको उत्पादन कार्य अघि बढ्न सकेको छैन । परीक्षण तथा उत्पादनका लागि कुनै पनि काम अघि बढेको छैन । चिनियाँ प्राविधिक टोलीले गत कार्तिकमै अध्यक्ष प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । तर अहिलेसम्म उक्त प्रतिवेदनमाथि थप अध्ययन समेत भएको छैन । यसले पनि अहिले ग्यास उत्पादन सरकारको प्राथमिकतामा नपरेको देखिन्छ ।
प्रकाशित मितिः ६ पुष २०८२, आईतवार ०९:४३
सम्पादकीय ।