अर्गानिक वस्तुको बजारीकरण

कर्णाली प्रदेशमा पछिल्लो समय अर्गानिक वस्तु उत्पादनमा कृषकहरुको आकर्षण बढेको छ । प्रदेश सरकारले नै अर्गानिक प्रदेश बनाउने योजना अघि सारेपछि कृषकहरु पनि सोहीअनुसार अर्गानिक उत्पादनमा केन्द्रित भएका छन् । तरकारी र अन्य उत्पादनमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोग छोडेर जैविक मल प्रयोगमा ध्यान दिन थालेका छन् । तर यसरी अर्गानिक वस्तु उत्पादनमा लागेका कृषकहरुले पर्याप्त आर्थिक लाभ लिन सकेका छैनन् । रासायनिक मल र विषादी प्रयोगको तुलनामा अर्गानिक उत्पादन न्यून हुने र उत्पादित वस्तुहरुले पनि बजार र मूल्य नपाउने समस्याका कारण कृषकहरु निराश हुन थालेका छन् ।

वीरेन्द्रनगर–१३ का मणिराम लामिछानेले अर्गानिक खेती गर्न थालेको तीन वर्ष भयो । उनले काँक्रा, बन्दा, काउली, खुर्सानी, बोडी, सागलगायतका तरकारीको खेती गर्दै आएका छन् । पछिल्लो समयमा अर्गानिक खेतीतर्फ मणिराम मात्र होइन, अन्य किसानहरुमा पनि आकर्षण बढ्दै गएको छ । रासायनिक मल तथा विषादीले मानव तथा पर्यावरणमा पर्ने असरबारे थाहा पाउँदै गएकाले यस्ता वस्तुको विकल्प खोज्न थालेका हुन् । यद्यपि, जैविक मल तथा विषादी प्रयोग नगरी गरिएको खेतीबाट रासायनिक मल र विषादी प्रयोग गरेर गरिने खेतीमाजस्तो उत्पादन हुँदैन । मणिरामका अनुसार अर्गानिक रुपमा उत्पादन गरिएको तरकारी राम्रो नदेखिने, कतिपयमा सानातिना किरा लाग्ने गर्छन् । व्यवसायी र उपभोक्क्ताले यस्ता तरकारी नरुचाउने लामिछानेको अनुभव छ । त्यसैले अर्गानिक खेती गर्ने किसानका लागि सबैभन्दा ठूलो समस्या बजारको रहेको किसानहरु बताउँछन् । अर्गानिक रुपमा उत्पादन गर्दा न्यून उत्पादन हुने, त्यसमाथि बजार मूल्य नपाउने हुँदा मर्कामा परिरहेको उनको गुनासो छ । रासायनिक मल प्रयोग गर्दा उनले वार्षिक चार लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका थिए । अहिले धाँै–धाँै साढे दुई लाख आम्दानी हुने गरेको सुनाए । मणिराम एक पात्र मात्रै हुन्, अधिकांश अर्गानिक कृषि उत्पादनहरुको यस्तै गुनासो छ ।

अर्गानिक खेतीमा बढी मेहनत चाहिन्छ । तर उत्पादन पर्याप्त नहुँदा कृषकहरु निराश हुने गरेका छन् । त्यसमाथि रासायनिक मल र विषादी हालेर फलाइएको वस्तुसँगको प्रतिस्पर्धा सहज देखिँदैन । कम मूल्यमा बिक्री गर्दा लागत पनि नउठ्ने र महँगो मूल्य गर्दा बिक्री नै नहुने समस्याले कृषकहरूलाई सताइरहेको देखिन्छ । त्यसैले अर्गानिक प्रदेश घोषणाको योजना बनाएको सरकारले अर्गानिक तरकारी र बालीको प्रवद्र्धन गर्ने कार्यक्रम पनि बनाउन जरुरी छ । अर्गानिक उत्पादनहरुको प्रमाणीकरण गरेर त्यसका बेग्लै बिक्री कक्ष वा बजार व्यवस्थापन गर्न सकेको खण्डमा कृषकहरूले लाभ हुन सक्नेछन् । अर्गानिक खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्ने र बजारीकरणमा समेत सहजीकरण गरिदिने हो भने अर्गानिक प्रदेश घोषणा योजना पनि सफल हुन सक्दछ ।

प्रकाशित मितिः   ४ पुष २०८२, शुक्रबार ०५:०३