एमाले पदाधिकारीमा अटायो कर्णाली

सचिवमा यामलाल कँडेल निर्वाचित

 

सुर्खेत: नेकपा (एमाले) को केन्द्रीय पदाधिकारीमा कर्णाली प्रदेशबाट पनि प्रतिनिधित्व हुने भएको छ । सुर्खेतका यामलाल कँडेल सचिवमा निर्वाचित भएसँगै एमालेको शीर्ष भूमिकामा पहिलो पटक कर्णालीको प्रतिनिधित्व सुनिश्चित भएको हो ।

यसअघि केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी कमिटी सदस्य भएपनि कर्णालीबाट कोही पनि एमालेको पदाधिकारी तहमा पुगेका थिएनन् । प्रदेशबाट सबैभन्दा सिनियर नेता कँडेल एघारौँ महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।

नौ जना सचिव पदका लागि भएको निर्वाचनमा कँडेलले एक हजार एक सय ८५ मतसहित जित हात पारे । उनी अध्यक्ष केपी शर्मा ओली समूहका उम्मेदवार बनेका थिए । दशौँ महाधिवेशनबाटै सचिव हुने आकांक्षा देखाएका कँडेल त्यतिबेला ओलीको प्राथमिकतामा पर्न सकेनन् । यसपटक भने सातवटै प्रदेशलाई समेट्दा कर्णालीबाट उनी अटाएका छन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत रहेका कँडेल यसअघि एमालेको केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै स्थायी कमिटी सदस्य भइसकेका नेता हुन् । लगातार दोस्रो पटक महासचिव भएका शंकर पोखरेलकै समकालिन भएपनि उनी विगतमा भने शीर्ष भूमिकामा अवसरबाट वञ्चित हुँदै आएका थिए । बिहीवार सम्पन्न ११औँ महाधिवेशनबाट भने कर्णालीको प्रतिनिधित्व गर्दै पहिलो पटक पदाधिकारी तहमा पुग्न सफल भएका छन् ।

 

नौ जना सचिव पदका लागि भएको निर्वाचनमा कँडेलले एक हजार एक सय ८५ मतसहित जित हात पारे । उनी अध्यक्ष केपी शर्मा ओली समूहका उम्मेदवार बनेका थिए । दशौँ महाधिवेशनबाटै सचिव हुने आकांक्षा देखाएका कँडेल त्यतिबेला ओलीको प्राथमिकतामा पर्न सकेनन् । यसपटक भने सातवटै प्रदेशलाई समेट्दा कर्णालीबाट उनी अटाएका छन् ।

 

सचिवसँगै केन्द्रीय सदस्यमा पनि कर्णालीबाट एक दर्जनभन्दा बढी नेताहरू निर्वाचित भएका छन् । कर्णाली भूगोल (खुला) तर्फ पाँच सिटका लागि भएको निर्वाचनमा जितबहादुर मल्ल सर्वाधिक एक हजार नौ सय ५६ मत ल्याएर विजयी भएका छन् । हाल कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका मल्ल पूर्वमन्त्रीसमेत हुन् । मल्ल मुगुबाट प्रतिनिधित्व गर्छन् ।

अर्का नेता विष्णु रिजालले एक हजार सात सय ९० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भए । खुलातर्फ नै नवराज रावत एक हजार सात सय ४८ मत पाएर विजयी हुँदा एक हजार ६ सय नौ मत पाएका दल फडेरा र एक हजार पाँच सय ८८ मत पाएका डम्बरबहादुर सिंह पनि केन्द्रीय सदस्य बने । उनीहरू सबै अध्यक्ष ओली समूहका हुन् । ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका कुर्मराज शाही, ठम्मरबहादुर विष्ट र लालबहादुर महतारा पराजित भएका छन् ।

केन्द्रीय सदस्य भूगोल कर्णाली (महिला) तर्फको तीन सिटका लागि भएको प्रतिस्पर्धामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सर्वाधिक एक हजार नौ सय २३ मतसहित विजयी भएकी छिन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन् । महिलातर्फ नै इन्दिरा कुमारी पन्थी (सञ्ज्याल) ले एक हजार आठ सय ५२ र मिनासिंह रखालले एक हजार आठ सय १४ मत पाएर केन्द्रीय सदस्य हुन सफल भए । मेनुका पछाई पराजित भइन् ।

कर्णालीबाट केन्द्रीय सदस्यमा युवा नेता रुद्रबहादुर शाही पनि निर्वाचित भएका छन् । भूगोलतर्फकै ४० वर्ष मूनिको प्रतिस्पर्धामा एक हजार चार सय १६ मत प्राप्त गरेर शाही निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तपेन्द्रबहादुर शाहीले आठ सय ११ मत मात्र प्राप्त गरे । उनीहरू दुवै जना ओली समूहकै हुन् ।

४० वर्षमूनिको खुला युवा सदस्यमा यसअघि कर्णालीबाटै सुशील थापा निर्विरोध निर्वाचित भइसकेका थिए । यसैगरी खुला केन्द्रीय सदस्यमा कर्णालीबाट पाँच जना विजयी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका सात जनामध्ये पाँच जना विजयी हुँदा दुई जना पराजित भएका हुन् ।

निर्वाचित हुनेमा स्थायी कमिटी सदस्य भइसकेका गोरख बोगटी, युवा नेता निरज आचार्य, दल रावल, राजबहादुर बुढाक्षेत्री र मिनबहादुर शाही विजयी भएका हुन् ।

ओली समूहबाटै उम्मेदवार बनेका लक्ष्मीप्रसाद पोखरेल र धर्मराज रेग्मी भने पराजित भएका छन् ।

प्रकाशित मितिः   ४ पुष २०८२, शुक्रबार ०५:०५