प्रभावकारी जीवनपर्यन्त सिकाइ
सुर्खेत: जीवनपर्यन्त सिकाइ प्रभावकारी भएको पाइएको छ । सामुदायिक सिकाइ केन्द्रहरूद्वारा सञ्चालित अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रमबाट धेरैले लाभ लिएका छन् ।
आइतवार वीरेन्द्रनगरमा सामुदायिक सिकाइ केन्द्रहरूबीच अनुभव आदान–प्रदान गरिएको छ । एफसीडीओको आर्थिक सहयोग, ब्रिटिस काउन्सिल÷ भिएसओ नेपालको साझेदारी तथा आसमान नेपालको आयोजनामा प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रम गरिएको हो ।
दशवटा सामुदायिक सिकाइ केन्द्रहरूबीच बृहत् छलफल गरिएको थियो । पारिजात सामुदायिक सिकाइ केन्द्र र मेहलकुना सामुदायिक सिकाइ केन्द्रले हालसम्म गरेका उपलब्धी र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । मेहेलकुना सामुदायिक सिकाइ केन्द्रका संयोजक नन्दा रेग्मीले अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे वार्षिक कार्ययोजना निर्माण गरिएको बताइन् । अनौपचारिक तथा वैकल्पिक सिकाइलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
यस्तै, पारिजात सिकाइ केन्द्रकी संयोजक लक्ष्मी राजवंशीले २०६३ सालदेखि जीवनपर्यन्त सिकाइमा जोड दिएको बताइन् । अहिले परिवर्तीत समयाअनुकूल कार्ययोजना निर्माण गरेर काम गरिरहेको उनको भनाइ छ ।
कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत् जीवनपर्यन्त सिकाइका कार्यक्रम सञ्चालन भइरहेका छन् । संघीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्युँताउन सिकाइ केन्द्रको भूमिका अहम देखिएको सरोकारवालाहरूले बताएका छन् । मानिसको जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन अनौपचारिक शिक्षा तथा आजीवन सिकाइलाई जोड दिनुपर्ने आसमान नेपालका कार्यक्रम अधिकृत अस्मिता शर्माले बताइन् । अहिले किशोरी सशक्तिकरण कार्यक्रममा जोड दिएको उनको भनाइ छ । जीवनपर्यन्त सिकाइले रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्न मद्दत पु¥याउने शर्माले बताइन् ।
सिकाइ अनन्तकालसम्म चलिरहने प्रक्रिया भएकाले यसलाई निरन्तर र प्रभावकारीरूपमा सञ्चालन गर्न सबैको भूमिका आवश्यक भएको बाङ्गेसिमल सामुदायिक सिकाइ केन्द्रका मोहन गिरीले बताए । स्थानीय सरकारको मातहतमा रहेका सामुदायिक सिकाइ केन्द्रलाई चलायामान बनाउन सकेमा सिकाइ केन्द्र प्रभावकारी हुने उनको भनाइ छ । अहिले आफूहरूको सिकाइ केन्द्रले विविध कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।
यस्तै, आसमान नेपाल अन्तर्गतको जेम्स परियोजनाले किशोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गरिरहेको छ । किशोरी सशक्तिकरण कार्यक्रमको प्रभाव उल्लेखनीय रहेको पाइएको आसमान नेपालकी कार्यक्रम संयोजक दुर्गा गाहा मगरले बताइन् । उनका अनुसार परियोजनाले किशोरीहरूमा अंग्रेजी, डिजिटल र सामाजिक सीप विकासमा उल्लेखनीय योगदान पु¥याएको छ । अहिले परियोजनाको समय अवधि सकिँदैछ । कार्यक्रममा विगत तीन वर्षमा प्राप्त उपलब्धि, चुनौती र प्रभावबारे छलफल समेत गरिएको छ ।
अंग्रेजी दक्षता वृद्धि परियोजना सञ्चालनपूर्वको सर्वेक्षण अनुसार अंग्रेजी बोल्न आत्मविश्वास नहुने किशोरीहरूको तथ्याङ्क ६५ दशमलव ६५ बाट घटेर अन्तिम सर्वेक्षणमा ७५ दशमलव ५ मा सीमित भएकोले उल्लेख्य प्रगति देखिएको छ । डिजिटल सीप विकास अन्तिम सर्वेक्षणमा ९२ दशमलव ७५ किशोरीहरूले इन्टरनेट आफैं ब्राउज गर्न सक्ने भए, यद्यपि धेरैसँग घरमा निजी ल्यापटप वा डेस्कटप पहुँचको अभाव रहेको पाइएको छ । आत्मक्षमता वृद्धि ४३ दशमलव ७५ किशोरीहरूले नयाँ व्यक्तिसँग भेटघाट गर्दा आत्मविश्वासी भएको जनाएका थिए । ७७ दशमलव ३५ ले १८ वर्षपछि मात्र विवाह गर्ने प्रतवद्धता गरे । ६७ दशमलव ६५ले दाइजो प्रथाविरुद्ध धारणा व्यक्त गरेका थिए । यसबाट किशोरीहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको पाइएको छ । निर्णय क्षमता तथा नेतृत्व विकास किशोरीहरूले सार्वजनिक रूपमा बोल्दा लाग्ने डरलाइ परास्त गरेका छन् ।
प्रकाशित मितिः ९ मंसिर २०८२, मंगलवार १०:३४

साझा बिसौनी ।