नापी कार्यालयद्वारा आंशिक सेवा सुरु

सुर्खेत: नापी कार्यालय सुर्खेतले आंशिक सेवा सुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको कार्यालयले दुई महिनापछि आंशिक सेवा सुरु गरेको हो । गत भदौ २४ गते आगजनीमा क्षति भएपछि स्थगित भएको सेवा मंसिर १ गतेदेखि आंशिकरूपमा सुरु गरेको छ ।

कार्यालय प्रमुख दिनेशकुमार भण्डारीका अनुसार अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) सेवा मात्र सुरु भएको छ । पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएकाले आंशिक रूपमा सेवा सुरु गरिएको कार्यालय प्रमुख भण्डारीले जनाए । ‘अन्य सेवा सञ्चालन गर्न महिनौ लाग्ने देखिन्छ, मंसिर १ गतेबाट आंशिक सेवा सुरु गरेका छौँ’ उनले भने ।

आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङको काम सकिएपछि आंशिक सेवा मात्र सञ्चालन गर्न सकिएको हो । पूर्वाधार निर्माण, आवश्यक सामग्री खरिद र पुराना विवरण भएको हार्डडिक्स रिकभर गर्ने काम भइरहेको उनले जानकारी दिए । हार्डडिक्स रिकभरका लागि नापी विभागमा पठाइएको छ । यसैगरी आवश्यक कम्प्यूटर लगायतका सामग्री उपलब्ध गराउन स्थानीय तह र विभागलाई पत्रचार गरिएको कार्यालयले जनाएको छ ।

अन्य सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने जनाइएको छ । बंैकबाट ऋण लिन आवश्यक पर्ने अनलाइनमा उपलब्ध कित्ताको नक्सा प्रिन्ट गरेर दिने सेवा अहिले सञ्चालन गरिएको हो । यद्यपि, सेवाग्राहीलाई आवश्यक पर्ने गाउँ ब्लक, फाइल नक्सा, भूमि आयोगबाट तयार भएको नक्सा र पुनः नापी बमोजिमको नक्सा तथा कित्ताकाट सेवा हाललाई सुचारु गर्न नसकिएको कार्यालयले जनाएको छ । पूर्णरूपमा कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको हुँदा पूर्वाधार तयार भएलगत्तै सेवा सुचारु गरिने प्रमुख भण्डारीले जानकारी दिए । पूर्वाधार तयार गर्न भने अझै समय लाग्ने देखिन्छ । ‘मेरो कित्ता प्रणलीबाट’ बंैक तथा वित्तीय संस्थाहरूले आवदेन दिएको खण्डमा अहिले भइरहेको सेवा सुचारुमा सहजता हुने कार्यालयले जनाएको छ । उक्त काम बंैक तथा वित्तीय संस्थाहरूले नगर्दा नापी कार्यालयमा भीड लाग्ने गरेको छ । अहिले अनलाइन सिस्टमको काम मात्र भइरहेको छ ।

कार्यालयमा अझै पनि स्क्यानर र प्रिन्टरको अभाव छ । स्थानीय तहहरूलाई सामग्री उपलब्ध गराइदिन पत्रचार गरिएको छ । स्थानीय तहहरूले कार्यपालिका बैठकबाट निर्णय गरेर उपलब्ध गराउने जनाएका छन् । क्षतिग्रस्त भएका संरचना विभिन्न निकायबाट माग गर्दै ल्याए पनि स्क्यानर र प्रिन्टरको अभाव भइरहेको छ । हार्डडिस्क रिकभर गर्ने काम पनि भइरहेको जनाइएको छ । तर अहिलेसम्म पूरा भएको छैन । कार्यालयले पछि बचेका स्थानको हातले लेखेर प्लट रजिस्टरको पुनस्र्थापनाको काम गरेको थियो । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । नयाँ रजिस्टर विभागबाट मगाएर हातले पुनस्र्थापना गर्ने काम कार्यालयले गरेको थियो । जलेका कागजात करिब पाँच प्रतिशत मात्रै काम लाग्ने खालका बचेको र अन्य सबै जलेर खरानी भएको प्रमुख भण्डारीले जनाएका छन् । पूर्वाधार निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । सामग्रीको उपलब्धता, हार्डडिक्स रिकभर र पूर्वाधार निर्माणका काम सम्पन्न भएको खण्डमा पूर्ण रूपमा काम सुचारु गरिने जनाइएको छ ।

जेन–जी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुग्यो । आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको थियो । क्षति मूल्यांकन समितिमा प्राप्त भएको विवरणका आधारमा २१ करोड १९ लाख ६९ हजार तीन सय ४५ रूपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको जनाइएको छ । यसमा राजनीतिक दलका कार्यालय र निजी घरको क्षतिको विवरण समावेश गरिएको छैन । संघीय सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय र स्थानीय तहका कार्यालयमा भएको भौतिक संरचना, उपकरणलगायतका क्षतिको विवरण हो ।

प्रकाशित मितिः   ९ मंसिर २०८२, मंगलवार १०:३२