जैविक विविधता संरक्षण

कर्णाली भौगोलिक र जैविक विविधतायुक्त प्रदेश हो । तर जैविक विविधताको संरक्षणमा भने राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन । जलचर तथा जैविक विविधता संरक्षण योजना ओझेलमा पर्ने गरेको छ । सरकारले यस विषयलाई प्राथमिकतामा नराख्दा उक्त योजना ओझेलमा परेको हो । जलचर र जैविक विविधता संरक्षणका लागि कर्णाली प्रदेश सरकारले ठोस योजना निर्माण गर्न सकेको छैन । ऐन निर्माण गरेर संरक्षणका कार्यक्रम कार्यान्वयन गर्ने बताएपनि काम अघि बढ्न नसकेको हो ।

त्यो प्रदेश सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा जैविक विविधता संरक्षणको विषय समेट्ने गरेको छ । त्यसका लागि भने केही बजेट पनि छुट्याइन्छ । तर प्रभावकारी कार्यक्रम बनाएर कार्यान्व्यन गर्न भने चुकिरहेको छ । स्थानीय सरकारले पनि यस विषयलाई प्राथमिकतामा राख्न नसक्दा जलचर जीवहरू मासिँदै गएको जानकारहरू बताउँछन् । पछिल्लो समय अव्यवस्थित रुपमा भइरहेको विकास निर्माणका गतिविधिले पनि पारिस्थितिक प्रणालीमा असर परिरहेको छ । जैविक विविधता संकटमा परेको छ । जलचर प्राणीहरु लोप हुने अवस्थामा पुगेका छन्  । विभिन्न समयमा गैरसरकारी निकायहरूको यस क्षेत्रमा काम पनि भएका छन् । तर ती पर्याप्त छैनन् । प्रदेश सरकारले आफै भने यस विषयमा कुनैपनि ठोस योजना निर्माण गरेको छैन । जलचर ऐन निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्ने भनिएको भएपनि काम हुन सकेको छैन । यद्यपि, कर्णाली प्रदेश सरकारले जलचर संरक्षण ऐन निर्माणको स्वीकृती भने दिएको छ । १९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै ऐन निर्माणको बाटो खुलेको हो । विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति आएसँगै ऐन निर्माणको काम अघि बढाउन लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

जलचरको संरक्षण र व्यवस्थापन गर्न ऐन आवश्यक छ । जसले जलचर संरक्षणका लागि स्पष्ट निदानिर्देश गर्न सक्दछ । पछिल्लो समय नदी तथा तालहरुमा भइरहेको अतिक्रमण र जलचरमाथिको संकट न्यूनीकरणका लागि यो अपरिहार्य छ । विषालु पदार्थ, विषादी, विजुलीलगायतको प्रयोग बढ्दो छ भने चोरी पैठारी पनि बढेको देखिन्छ । जसमा नियन्त्रण जरुरी देखिन्छ । यसका साथै कुनै पनि निकायले जलचर नष्ट हुने गरी भौतिक पूर्वाधार निर्माणलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । विद्युत, खानेपानी, सिँचाइ वा अन्य कुनै प्रयोजनका लागि हुने भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित गर्न सकेमा जलचलको संरक्षणमा ठूलो योगदान पुग्न सक्दछ । जसले गर्दा जैविक विविधताको संरक्षणमा पनि सघाउ पुग्छ ।

प्रकाशित मितिः   ९ मंसिर २०८२, मंगलवार १०:३५