सशक्तिकरणमा जोड

कर्णालीमा बर्सेनि घरेलु हिंसा, बालविवाह, बहूविवाह लगायतका घटना बढ्दो क्रममा रहेका छन् । जसले महिलाहरु प्रभावित हुने गरेका छन् । महिलाहरुमाथि हुने हिंसा र विभेद अन्त्य गर्न छोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गरिने भएको छ । आर्थिक तथा सामाजिक विकासमा पछि परेका परिवारका छोरीहरुलाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले छोरी सशक्तिकरण कार्यक्रम ल्याएको हो । प्रदेशमा बढ्दो बालविवाह, बहूविवाह, घरेलु हिंसा न्यूनीकरण गर्नका लागि कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । छोरीलाई उच्च शिक्षा, सिप विकास, सचेतना तथा क्षमता विकास जस्ता सशक्तिकरणका कार्यक्रममा जोड्न लागिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । त्यसैले यो वर्ष शिक्षा र सिप विकाससँग जोडेर छोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।

छुट्टै नीति निर्माण गरेर छोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गर्ने तयारी सरकारको छ । कर्णाली सामाजिक सशक्तिकरण कार्यक्रम मार्फत बालमैत्री, छाउपडीमुक्त, छुवाछुतमुक्त, बालविवाहमुक्त स्थानीय तह घोषणाका लागि पनि प्रोत्साहन गरिनेछ । स्थानीय सरकारले सञ्चालन गरिरहेका कार्यक्रमलाई सबल हुनेगरी छोरी सशक्तिकरण कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । केही स्थानीय तहले बालविवाहमुक्त र बहूविवाहमुक्त पालिका घोषणाको तयारी थालेका छन् । स्थानीय र प्रदेश सरकारको साझेदारीमा कार्यक्रम भइरहेका छन् । विभिन्न संघसंस्थाहरुले समेत बालिका सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । छोरी सशक्तिकरण कार्यक्रमलाई टेवा पुग्नेगरी छोरी सुरक्षा कार्यक्रम पनि कार्यान्वयनको तयारी थालिएको छ । केही वर्षदेखि अलमलमा रहेको ‘छोरी सुरक्षा’ कार्यक्रम ब्युँताउन लागिएको हो । आर्थिक व्ययभार धेरै हुने देखिएपछि केही वर्षदेखि कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले यो वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिन लागिएको जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयनमा लैजान लागिएको हो ।

कार्यक्रम केही परिमार्जन गरेर कार्यान्वयन गर्न लागिएको छ । अघिल्ला आर्थिक वर्षहरूमा नीति तथा कार्यक्रममा समेटिएको भएपनि बजेट विनियोजन भएको थिएन । यो वर्ष बजेट विनियोजन र कार्यक्रमको मोडालिटी तय गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बालिकाहरूको सामाजिक र आर्थिक सुरक्षाका लागि भन्दै ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम ल्याएको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन । अब भने खातामा जम्मा गरिएको पैसालाई उत्पादनका क्षेत्रमा लगाएर नाफामुखी बनाउनेगरी कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । अहिले कार्यक्रम कार्यान्वयनमा लैजाने विषयमा विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ । यसअघि भने व्यवभार धान्न नसकिने भन्दै कार्यान्वय रोकिएको थियो ।

प्रकाशित मितिः   २७ कार्तिक २०८२, बिहीबार १२:०४