वडाबाटै सेवा प्रवाह गर्न सुझाव

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका वडाहरूले जिल्ला समन्वय समितिको भवनबाट दिइरहेको एकीकृत सेवाप्रति मुख्यमन्त्री यामलाल कंडेलले सन्तुष्टि जनाएका छन् । जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका वडाहरूले केही दिनदेखि समन्वय समितिको कार्यालयबाट कार्यसम्पादन गरिरहेका छन् । यसले स्थानीय नागरिकलाई सेवा लिन असहज भएको भन्दै मुख्यमन्त्री कंडेलले सम्बन्धित वडाहरूबाटै सेवा प्रवाहका लागि अनुरोध गरेका हुन् ।
मंगलवार सम्बन्धित वडाध्यक्षहरूसँगको छलफलका क्रममा उनले आन्दोलनपछिको अवस्था सामान्य हँुदै गएकोले जलेकै भवनबाट भएपनि सेवा प्रवाह गर्न सुझाव दिएका छन् । ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ’ उनले भने, ‘सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ । जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।’ मुख्यमन्त्री कंडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घरआँगनबाटै दिनुपर्नेमा जोड दिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीबाट वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसहित १२ वटा वडाकार्यालयमा क्षति पुगेको छ । तत्काल वडाबाटै सेवा दिन सकिने अवस्था नरहेको भन्दै वडाहरूले अहिले एकीकृत सेवा दिइरहेका छन् ।
प्रकाशित मितिः ८ आश्विन २०८२, बुधबार १७:२९
साझा बिसौनी ।