आगजनीबाट २१ करोड बढीको क्षति

सुर्खेत: युवा (जेन–जी)हरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सुर्खेतका सरकारी कार्यालयमा २१ करोड बढीको क्षति भएको छ । जिल्लाभर कुल २१ करोड १० लाख ५६ हजार रूपैयाँ बराबरको सरकारी सम्पत्तिमा क्षति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । नगरपालिकामा मात्रै १० करोड ९० लाख ८७ हजार आठ सय रूपैयाँ बराबरको क्षति भएको हो । आन्दोलनकारीले नगरपालिकासहित १ देखि १२ नम्बरसम्मका वडा कार्यालयहरूमा आगजनी गरेका थिए । नगरपालिका मातहतमै रहेको सिटी हलमा पनि आगजनी र तोडफोड भएको थियो । आगजनीबाट वीरेन्द्रनगरका २, ३, ४, ५, ६, १० र ११ नम्बरका वडा कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन् । नगरपालिकाको कार्यालय, सिटीहलसहित वडा नं. १, ७, ८, ९ र १२ नम्बरका वडा कार्यालयहरूमा आंशिक क्षति पुगेको छ । आन्दोलनबाट भौतिक संरचनामा भएको क्षति र असुरक्षाको कारण देखाउँदै १ देखि १२ सम्मका वडाहरूले केही दिनदेखि जिल्ला समन्वय समितिको हलबाट एकीकृत रूपमा सेवा प्रवाह गर्न थालेका छन् ।

त्यसैगरी आगजनी र तोडफोडबाट कर्णाली प्रदेशसभामा कुल तीन करोड ९४ लाख १६ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको छ । प्रदेशसभाको भवन, फर्निचर सामग्री, इलेक्ट्रोनिक्स र सवारी साधनलगायतका भौतिक सम्पत्तिमा क्षति पुगेको छ । सबै संरचनाहरू ध्वस्त भएपछि प्रदेश सभाका विषयगत समितिको कामकारबाही प्रभावित भएका छन् ।

आगजनी र तोडफोडबाट नापी कार्यालय सुर्खेतमा कुल दुई करोड ६३ लाख ६० हजार रूपैयाँ बराबर क्षति भएको छ । सवारी साधानसहित कार्यालयका सम्पूर्ण कागजात, फर्निचर सामग्रीमा क्षति पुगेको छ । सोही क्षतिका कारण कार्यालयले तत्काल सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको छ ।

यसैगरी प्रदेश लेखा नियन्त्रकको कार्यालयमा एक करोड ३२ लाख १६ हजार बराबर क्षति भएको छ । भवनसहित सवारी साधान, इलेक्ट्रोनिक्स सामग्री र कागजातमा क्षति पुगेको प्रशासन कार्यालयले जनाएको छ । भौतिक संरचनाहरूमा क्षति भएपनि लेखा कार्यालयले सेवा प्रवाह रोकेको छैन । आगजनीबाट बचेका दुई कोठाबाट सेवा प्रवाह सुरु गरेको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा कर्मचारीको तलव सुविधा नियमित गर्नुपर्ने बाध्यताका कारण दुई कोठाबाट सेवा प्रवाह सुरु गरेको जनाइएको छ ।

आन्दोलनकारीको आगजनी र तोडफोडबाट जिल्ला समन्वय समितिको कार्यालय सुर्खेतमा चार लाख तीन हजार, सडक डिभिजन कार्यालय सुर्खेतमा दुई लाख चार हजार र भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनामा ६० हजार, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा चार लाख १० हजार रूपैयाँ बराबर क्षति भएको प्रशासनले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा तीन लाख ५९ हजार, मुख्य न्यायाधिवक्ताको कार्यालयमा एक करोड १४ लाख ६० हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक करोड ७९ हजार रूपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको जनाइएको छ ।

सरकारी संरचनाहरूबाहेक विभिन्न राजनीतिक दलका कार्यालय र निजी निवासहरूमा पनि आगजनी र तोडफोड भएको छ । वीरेन्द्रनगमा रहेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकामा प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, डा. डम्बर खड्का र विष्णुबहादुर खड्काको निजी घरमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालय र व्यक्तिका निजी सम्पत्तिमा भएको क्षतिको विवरण भने संकलनकै क्रममा छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८२, बुधबार १७:२८