‘संसद् विघटन संविधानमाथिको प्रहार’

सुर्खेत: सुर्खेत स्थित पाँच रानजीतिक दलले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । बुधवार वीरेन्द्रनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले प्रतिनिधिसभा विघटन गरिनु संविधानमाथिको प्रहार भएको टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ती जारी गर्दै साझा धारणा सार्वजनिक गरेका छन् । एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाले उत्पन्न समस्यासँग जुध्नका लागि संयुक्त विज्ञप्ति जारी गरिएको बताए ।
युवा (जेन–जी)हरूको प्रदर्शनको क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली गरेका छन् भने आन्दोलनका क्रममा घाइते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगाएतका नेता तथा सम्पूर्ण घाइतेप्रति स्वास्थ्य लाभको कामना गरिएको छ । जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, राजनीतिक दलहरूका कार्यालय र व्यक्तिगत सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाहरूप्रति निन्दा व्यक्त गरिएको छ ।
साथै घटनाका सम्बन्धमा छानविन गरी संलग्नलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायलार्ई ध्यानाकर्षण गराइएको छ । भदौ २७ गते राती वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति पनि ध्यानाकर्षण गराइएको छ । असोज ३ गते संयुक्त रूपमा संविधान दिवस मनाउने, दिप प्रज्वलन गर्ने, अन्तरसंवाद गर्ने जानकारी गराइएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि विविध छलफल गर्ने जनाइएको छ ।
प्रकाशित मितिः २ आश्विन २०८२, बिहीबार १७:३३
साझा बिसौनी ।