कर्णालीका ४२ स्थानमा सुपथ पसल

सुर्खेत: सहर केन्द्रित हुने गरेका चाडपर्व लक्षित सुपथ पसल यो वर्षदेखि गाउँ केन्द्रित गर्न लागिएको छ । त्यसका लागि कर्णालीका ४२ स्थानमा सुपथ मूल्य पसल विस्तार गर्न लागिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले स्थानीय तहसँगको समन्वयमा जनशक्ति र ढुवानीको व्यवस्था गरेर गाउँ केन्द्रित सुपथ पसल सञ्चालन गर्न लागिएको जनाएको छ । प्रादेशिक कार्यालया प्रमुख केशवराज बुढाले भदौ ३० गतेबाट कर्णालीका १९ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरिसकिएको जनाए । पालिकाहरूसँग समन्वय गरेर अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागिको उनको भनाइ छ । यसअघि भने दसैँ, तिहार र छठ पर्वको अवसर पारेर जिल्ला सदरमुकामहरूमा मात्रै पसल सञ्चालन गर्ने गरिएको थियो ।

जाजरकोटको सदरमुकामका साथै घोकी डिपो र नायकबाँडा डिपोमा सपुथ मूल्य पसल स्थापना गरिएको छ । यस्तै कालीकोटका पनि तीन स्थानमा सुपथ मूल्य पसलमार्फत नागरिकलाई सर्भसुलभ रूपमा खाद्य सामग्री उपलब्ध गराइनेछ । सदरमुकाम मान्म, पदमघाट र डिपो कार्यालय खल्नाघाटमा पसल सञ्चालन गरिएको छ ।

कार्यालयका अनुसार जुम्लाको सदरमुकाम, मुगुको सदरमुकाम, डिपो कार्यालय सोरुकोट र डिपो कार्यालय श्रीकोटमा सुपथ मूल्य छन् भने हुम्लाका तीन स्थान सदरमुकाम सिमकोट, डिपो कार्यालय सर्केगाड र श्रीनगरमा राखिएको छ । डोल्पाको सदरमुकाम दुनै, डिपो कार्यालय जुफाल र सर्मी, रूकुमपश्चिम सदरमुकाम मुसीकोट, दैलेखको दैलेख सदरमुकाम र सुर्खेतको सदरमुकाम गरी १९ स्थानमा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । यसबाहेक अन्य स्थानमा समेत सुपथ पसल सञ्चालनको तयारी भएको बुढाले जानकारी दिए ।

सुपथ मूल्य पसलमा चामल, तेल र चिनी लगायतका खाद्य वस्तुमा छुट दिइएको छ । चामल र चिनीमा प्रतिकेजी पाँच रूपैयाँ र तेलमा प्रतिलिटर सात रूपैयाँ छुट रहेको छ । सुपथ पसलका लागि १२ हजार क्वीटन चामल, एक सय क्वीटन चिनी र २६ हजार पाँच सय लिटर खाने तेल स्टक राखिएको छ ।

सुपथ मूल्य पसलबाट गत वर्ष प्रदेशभर २६ हजार दुई सय ३९ क्वीटल चालम बिक्री भएको थियो । ४२ हजार नौ सय ५० लिटर तेल र एक सय २२ क्वीटल चिनी बिक्री भएको थियो । प्रदेशभरमा विभिन्न सामग्रीहरू बिक्री गर्दा एक करोड ३४ लाख ९८ हजार एक सय ८३ रूपैयाँ छुट दिइएको कार्यालयले जनाएको छ ।

गतवर्ष सबैभन्दा धेरै खपत हुम्लामा भएको थियो । उक्त जिल्लामा ६ हजार एक सय ७३ क्वीन्टल चामल, ६ हजार तीन सय ५० लिटर तेल र ९८ क्वीटल चिनी बिक्री भएको थियो । जसमा ३१ लाख ९३ हजार छुट गरिएको थियो ।

यस वर्ष पनि भदौ ३० देखि कार्तिक १० गतेसम्म सुपथ पसल सञ्चालन गरिनेछ । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी चामल सहुलियत दरमा बिक्री गर्न थालिएको हो । सरकारी स्वामित्वका संस्थानहरूले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मूल्य पसलमा उपभोक्ताले लाभ लिएका छन् । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गरेका हुन् । अहिले स्थानीय तहसँगको समन्वयनमा गाउँ–गाउँमा सेवा विस्तार गर्न लागिएको जनाइएको छ ।

सपुथ पसलहरूमार्फत कर्णालीमा पोषणयुक्त चामल वितरण हुने गरेको छ । अघिल्ला वर्षहरूबाट पोषणमा सुधार ल्याउन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीका जिल्लाहरूमा पोषणयुक्त चामल वितरण गर्दै आइरहेको हो । यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि पौष्टिकयुक्त चामल वितरण गरिएको कार्यालय प्रमुख बुढाले बताए । पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शरीरलाई आवश्यक पर्ने तत्वहरू पाइन्छ ।

 

 

प्रकाशित मितिः   २ आश्विन २०८२, बिहीबार १५:५२