करदाता थपिए, राजश्व पनि वृद्धि

सुर्खेत: गत आर्थिक वर्षमा सुर्खेतमा राजश्व संकलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतमा राजश्व संकलन उत्साहजनक देखिएको हो । कर्णाली प्रदेशको आर्थिक केन्द्रको रूपमा विकास हुँदै गइरहेको सुर्खेतमा आन्तरिक राजश्व कार्यालय सुर्खेतले उत्साहजनक प्रगति हासिल गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले दुई अर्ब १४ करोड ४२ लाख रूपैयाँ राजश्व संकलन गरेको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा एक दशमलव ७३ प्रतिशतले बढी हो । उक्त वर्ष कार्यालयले एक अर्ब ८६ करोड ८१ लाख रूपैयाँ राजश्व संकलन गरेको थियो ।

राजश्व संकलनको यो वृद्धिले कर्णालीमा बढ्दो आर्थिक गतिविधि र कर सहभागिताको सकारात्मक चित्र प्रस्तुत गरेको आन्तरिक रावस्व कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलका अनुसार गत आर्थिक वर्षमा राजश्व संकलनमा वृद्धि भएको छ । कर कानुनको पालना जति बढ्दै गयो, त्यति नै राजश्व संकलन बढ्ने पौडलले दिए । सरकारले करका दायरा विस्तार गर्दै गएकाले पनि कर वृद्धि भएको हो । ‘करको दायरा विस्तार हुँदा पनि राजश्व बढ्छ,’ पौडेलले भने, ‘जति करको क्षेत्र बढ्यो, त्यति नै कर बढी आउँछ, अहिले कर दाखिला गर्नेको संस्थासमेत सन्तोषजनक छ ।’ आर्थिक गतिविधि र व्यापारिक कारोबार बढ्दा पनि कर संकलन बढिरहेको उनको भनाइ छ ।

कर्णाली प्रदेशको राजधानी भएकाले पनि सुर्खेतमा व्यापारिक गतिविधि धेरै हुने गरेका छन् । बक्यौता करको असुली हुनुले पनि राजश्व संकलन दर बढ्ने जनाइएको छ । यद्यपि, राजश्व कार्यालयले निर्धारण गरेको लक्ष्य भने अझै पूरा हुन सकेको छैन । गत वर्ष दुई अर्ब ४९ करोड ८६ लाख रूपैयाँको लक्ष्य राखिएकोमा ८५.८२ प्रतिशत मात्रै प्रगति हासिल भएको छ । कार्यालयका प्रमुख कर अधिकृत पौडेलका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी योगदान आयकरबाट भएको छ ।

आयकर शीर्षकमा एक अर्ब ३१ करोड ३२ लाख रूपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.०६ प्रतिशतले बढी हो । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)बाट ६८ करोड रूपैयाँ संकलन भएको छ । जसमा १३.४१ प्रतिशतको वृद्धि देखिएको छ । ब्याज करमा सबैभन्दा उत्साहजनक ३०.२० प्रतिशत र अन्तःशुल्कमा २२.८७ प्रतिशतको वृद्धि देखिएको छ ।

अधिकांश शीर्षकमा राजश्व संकलन बढे पनि घरबहाल करमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा घरबहाल कर संकलनमा एक दशमलव ९८ प्रतिशतले कमी आएको छ । यस शीर्षकमा सात करोड ४० लाखको लक्ष्य राखिएकोमा जम्मा चार करोड ३९ लाख मात्रै राजश्व संकलन भएको छ । जुन लक्ष्यको ५९ दशमलव ३९ प्रतिशत मात्रै हो । कार्यालयका अनुसार उक्त कार्यालय अधिकार क्षेत्रमा व्यावसायिक निकायहरूको घरबहाल कर मात्र आउँछ । प्राकृतिक व्यक्तिको घरबहाल कर स्थानीय तहमा जाने व्यवस्था छ । कार्यालयले राजस्वको दायरा र संकलनमा प्रगति गरे पनि निर्धारित लक्ष्य पूरा गर्न थप प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । कार्यालयले अधिकांश शीर्षकमा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि गरे पनि लक्ष्य भने पूरा भएको देखिँदैन । त्यसका पछाडि विभागको तोकेको लक्ष्यअनुसार राजश्व कार्यालयले अपेक्षित रूपमा काम गर्न नसक्नु हो ।

आन्तरिक राजश्व कार्यालयले राजश्व संकलनसँगै करको दायरा विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । कार्यालयले एकै वर्षमा १७ हजार ६ सय ७० नयाँ करदातालाई प्रणालीमा दर्ता गरेको छ । कार्यालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १३ हजार आठ सय ५० छ । यसले व्यक्तिगत आयलाई करको दायरामा ल्याउने प्रयास सफल हुँदै गएको देखाउँछ ।

यसैगरी, तीन हजार दुई सय तीन नयाँ आयकरदाता, चार सय चार मूल्य अभिवृद्धि कर (भ्याट) र एक सय १५ अन्तःशुल्कमा नयाँ फर्म तथा कम्पनी दर्ता भएका छन् । विथहोल्डर स्थायी लेखा नम्बर लिनेको संख्या ६३ छ । अहिले जताततै प्यान नम्बर अनिवार्य गराइएका कारण करदाता बढेका हुन् । करको दायरामा नआएकाहरूलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिन लगाइएको छ । ‘बजार अनुगमनको क्रममा पनि दर्ता नभएकाहरूलाई दर्ता गराउँछौँ,’ प्रमुख पौडेलले भने, ‘जुनसुकै आर्थिक कारोबारमा पनि स्थायी लेखा नम्बर नलिई कारोबार गर्न नहुने भन्ने हाम्रो विभागको प्रावधान छ । त्यसैले सबैले लेखा नम्बर लिएका कारण संख्यामा वृद्धि आएको हो ।’

गत आर्थिक वर्षमा कार्यालयले नौ करोड ६६ लाख बेरुजु फछ्र्यौट गरेको छ । सो वर्ष १२ करोड ४६ लाख रूपैयाँ बराबरको बेरुजु फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो । यद्यपि, लक्ष्यअनुसार फछ्र्यौट हुन सकेन । त्यसपछिको अवस्थामा यति फछ्र्यौट हुनु भनेको तुलनात्मक रूपमा धेरै भएको कार्यालयले जनाएको छ । अन्य जिल्लाको तुलनामा सुर्खेतमा आर्थिक कारोबार बढी हुने गरेको छ ।

प्रकाशित मितिः   १६ भाद्र २०८२, सोमबार ११:३४