‘मूल्य मान्यताका नाममा हिंसा’

सुर्खेत: सामाजिक मूल्य मान्यताका नाममा महिला हिंसाका घटनामा बढोत्तरी भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । आइतवार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशमा लैंगिक समानता, लैंगिक हिंसा र सामाजिक मूल्य मान्यतासम्बन्धी कार्यक्रमका सहभागिहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले आर्थिक अवस्था कमजोर हुँदा पनि हिंसामा बढोत्तरी भएको पाइएको बताए । मन्त्रालयबाट बालविवाह, बहुविवाह र हिंसा न्यूनीकरणका कार्यक्रम कार्यान्वयन भइरहेको समेत उनले जनाए ।
हिंसा पीडित र जोखिममा रहेका महिला र बालबालिकाका लागि आवासको व्यवस्थालगायतका योजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ । महिलाहरूको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भूगोलअनुरूप कार्यक्रम राखिएको जनाइएको हो । लैंगिक विभेद र हिंसा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसमेत गरिरहेको उनको भनाइ छ । ग्रामीण भेगका महिला हिंसामा परेको भएपनि कानुनी ज्ञानको अभावमा बाहिर आउन नसकेको जनाइएको छ ।
नेपालको संविधानले समेत अधिकार स्थापित गरेको भएपनि प्रभावकारी कानुन कार्यान्वयन हुन नसकेको पनि सरोकारवालाहरूले बताएका छन् । संविधानको धारा १६ मा सम्मानपूर्वक बाच्न पाउने हकको व्यवस्था छ । मौलिक हकमा सबै कुरा सुनिश्चित गरिएको भएपनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि, सकारले सविधानले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । अहिले प्रभावकारी कानुन कार्यान्वयनका लागि विभिन्न कार्यक्रम राखिएको मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । उनकाअनुसार कानुन पर्याप्त बनेका छन् । त्यसको कार्यान्वयनमा जोड दिइएको छ ।
आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले कानुनी अज्ञानताका कारण हिंसा बढेको बताइन् । सरकारले निर्माण गरेको योजनाको समेत प्रभावकारी कार्यान्वयन नभएको पाइएकोले उचित बजेटको विनियोजन गर्नुपर्नेमा उनको जोड रहेको छ । साथै आफ्नो संस्थामार्फत जातीय विभेद, महिला हिंसा, बालविवाह, बहूविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम कार्यान्वयन गरिरहेको शाहीले बताइन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पनि महिला हिंसाका घटनाको धेरै उजुरी आउने गरेका छन् । कार्यालयमा आउने अधिकांश घटना सामाजिक मूल्यमान्यताका कारण हुने गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख माधवप्रसाद श्रेष्ठले बताए । कानुन कार्यान्वयनको विषय फितलो हुँदै गएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी अपाङ्ग महिला संघका संगिता मगरले अपांगता भएका महिला अझ धेरै हिंसामा परेको बताइन् । तर अपाङ्गता भएका महिलाका सवाललाई हल्का रूपमा लिने गरेको उनको भनाइ छ ।
सामाजिक मूल्यमान्यताका कारण हुने हिंसा न्यूनीकरणमा सबैको दायित्व भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । आर्थिक अवस्था कमजोर हुँदा हिंसा बढेको भन्दै उनले मन्त्रालयले आवश्यकताका आधारमा योजना निर्माण गरेको समेत जनाए ।
प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार ११:३६
साझा बिसौनी ।