बुलबुले–काँक्रेविहार जलासयसहितको करिडोर
सुर्खेत: बुलबुलेदेखि काँक्रेविहार जोड्ने छोटो दुरीको करिडोर निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले जलासयसहितको करिडोर निर्माण गर्न लागेको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलासयसहितको करिडोर निर्माण योजना अघि सारिएको थियो । उक्त योजना कार्यान्वयनका लागि पूर्वसम्भाव्यता अध्ययनको काम भइरहेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयले यो योजना कार्यान्वयन गर्ने जनाइएको छ । निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले अहिले आयोजनाको अध्ययनको काम भइरहेकाले यसको लागतसहित विस्तृत प्रतिवेदन केही दिनसम्ममा तयार पारेर सार्वजनिक गरिने जानकारी दिए । उनले अबको २० दिनभित्र ठेक्का आह्वान गर्नेगरी आवश्यक काम भइरहेको पनि जनाए ।
सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश राजधानी संरक्षण योजना बनाएको छ । बढ्दो जनसंख्यालाई मध्यनजर गरेर व्यवस्थित राजधानी निर्माण गर्ने योजना सरकारको छ । सोही नीतिअनुरूप बुलबुलेदेखि काँक्रेविहारसम्मको प्रस्तावित जलासयसहितको करिडोर निर्माण गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । आयोजनाबाट राजमार्गदेखि दक्षिणतर्फको क्षेत्र संरक्षणसँगै पर्यटकिय क्षेत्र बुलबुले र काँक्रेबिहारलाई जोड्न लागिएको मन्त्रालयका प्रवक्ता पदमराज देवकोटाले बताए । उनकाअनुसार खुल्ला बगिरहेको पानीको सदुपयोग गर्नेसहित यो योजना कार्यान्वयन गर्न लागिएको हो ।
बुलबुलेदेखि काँक्रेविहारसम्म सात सय मिटर लम्बाइको करिडोर प्रस्ताव गरिएको छ । जसमा जलासयसहित पदमार्ग निर्माण गरिनेछ । फुटपाथसहितको सडक र सडकसँगै पानी बग्ने जलमार्ग बनाउने बताइएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र बुलबुलेदेखि काँक्रेबिहारसम्म संरचना निर्माण गर्न लागिएको निर्देशनालयका निर्देशक भट्टराईले जनाए ।
यो योजना कार्यान्वयनमा आए बुलबुले ताल हुँदै खुल्ला बगेको पानीलाई व्यवस्थित गरिनेछ भने पदमार्ग निर्माण र पर्खाल निर्माणलगायतका काम गरिने निर्देशक भट्टराईले जानकारी दिए । सकेसम्म पैदल यात्राबाटै बुलबुलेदेखि काँक्रेविहारसम्म पुग्नका लागि उक्त करिडोर निर्माण गर्न लागिएको हो । त्यसका लागि करिब ३० करोडको लागत अनुमान गरिएको निर्देशनालयले जनाएको छ । तर चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेको छ । करिडोर निर्माणका लागि यो वर्ष आठ करोड मात्रै बजेट विनियोजन गरिएको छ ।
प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत बुलबुलेदेखि काँक्रेविहारसम्मको दुरी सहज बनाउने गरी सडकलाई व्यवस्थित गरी जलासयसहितको करिडोर निर्माण गर्ने योजना सरकारको छ । जलासय र फुटपाथसहितको पैदलमार्ग निर्माण गरेर बुलबुलेबाट काँक्रेविहारसम्म सहज रूपमा आउँजाउँ गर्न सकिने मात्रै होइन यसले स्थानीय पर्यटन प्रवद्र्धनमा पनि ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
एउटा पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलसम्म पुग्नका लागि दुरी लामो हुँदा पर्यटकहरू अलमलमा पर्ने र व्यवधान भोग्नुपर्ने अवस्था छ । त्यसैले पर्यटन प्रवद्र्धन गर्ने र प्रदेश राजधानीलाई व्यवस्थित गर्ने योजनाअनुरूप संरचनाहरू निर्माण थालिएको हो । विशेष गरेर उक्त करिडोरअन्तर्गत बुलबुलबाट बग्ने पानीलाई पर्खालले घेरेर काँक्रेविहारसम्म पु¥याइनेछ । साथमा व्यवस्थित पैदलमार्ग निर्माण पनि गरिने छ ।
प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार ०९:५९

साझा बिसौनी ।