कुडा कर्णालीका

बैकिनी बोल्लिछन्

कर्णाली उत्सवको छैटौँ संस्करणको पहिलो दिन ‘बैकिनी बोल्लिछन्’ सत्रको सञ्चालन भएको थियो । यो सत्र नारी नेतृत्व एवम् राजनीतिक क्षेत्रमा महिलाहरुको सक्रिय उपस्थितिको विषयमा सञ्चालन भएको थियो । सत्रको वक्ताको रूपमा कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरूङ र नेपालका सरकारका सचिव राधिका अर्याल रहेका थिए भने सत्रको सहजीकरण पत्रकार मिना बुढाथोकीले गरेकी थिइन् । सत्रमा वक्ताहरूले व्यक्त गरेका विचारको सम्पादित अंश यहाँ प्रकाशन गरिएको छ ।


 

नन्दा गुरुङ (सभामुख, कर्णाली प्रदेशसभा)

म सभामुख पदमा आउनु अघि धेरै संघर्षबाट गुज्रिनुप¥यो । सानै उमेरमा विवाह भयो, पढाइलाई निरन्तरता दिने सर्त भएपनि घरव्यवहार, खेतीपाती र पारिवारिक जिम्मेवारीका कारण त्यतिवेला धेरै पढ्न सकिनँ । श्रीमानको असामयिक निधनपछि साना छोराछोरी, बुढाबुढी, गाईबस्तु, खेतीपाती सबै सम्हाल्दै अघि बढ्नु प¥यो । एकल महिलाको हैसियतले समाजमा बाहिर निस्कँदा धेरै आलोचना र प्रश्न उठाइन्थे । तर मैले हार मानिनँ ।

सुरुमा आफ्नै नाम उच्चारण गरेर परिचय दिन पनि गाह्रो हुन्थ्यो । स्वास्थ्यसम्बन्धी तालिममा भाग लिएपछि आत्मविश्वास बढ्दै गयो । संस्थागत गतिविधिमा सहभागिता बढ्दै जाँदा बोल्ने, परिचय दिने र कार्यक्रम सञ्चालन गर्ने क्षमतामा सुधार भयो । एकल महिला संस्थामा आवद्ध हुँदै समाज र राजनीतिमा सक्रिय रहँदा धेरै चुनौती व्यहोर्नुपर्‍यो ।

पढाइ अधुरै भएकाले थप कठिनाइ भएपनि पछि खुला शिक्षामार्फत एसएलसी पास गरें । सुरुमा शिक्षकले उत्साह दिनुको सट्टा निरुत्साहित गरे तर मैले हार मानिनँ । निरन्तर प्रयासपछि एसएलसी, +२ र स्नातकसम्म अध्ययन पुरा गरें । यो यात्रामा परिवार, खेतीपाती, समाजसेवा, पार्टीगत जिम्मेवारी सबैलाई सँगसँगै सम्हाल्दै अघि बढेँ । यसरी संघर्षकै बीचमा शिक्षा र सामाजिक कार्यमा निरन्तर लाग्दा आज संघीयता कार्यान्वयनपछिको पहिलो महिला सभामुख बन्न सफल भएँ ।

सभामुखको जिम्मेवारी केवल व्यक्तिगत गौरव मात्र नभई कर्णालीका सम्पूर्ण महिलाको उपलब्धि हो । सभामा सबै दलको सहयोग र समर्थन पाउनु ठूलो प्रेरणा हो । आज पनि घरव्यवहारदेखि लिएर प्रदेशसभाका समितिहरू, सचिवालय, आन्तरिक कामकाज सबैलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । पुरुषको तुलनामा महिलाले अझै बढी संघर्ष गर्नुपर्छ भन्ने कुरा मैले प्रत्यक्ष देखेकी छु । एउटै कार्यक्रममा सहभागी हुन श्रीमानहरू सजिलै निस्किन्छन्, तर महिलाले बिहानैदेखि घरधन्दा पूरा गरेर मात्र बाहिरिन पाउँछन् ।

महिला हिंसा न्यूनीकरणका लागि प्रदेशसभाले नीति र कानुन बनाउन सरकारलाई निर्देशन दिने काम गरेको छ । लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि विभिन्न अवसरहरू– तीज, अन्तर्राष्ट्रिय महिला दिवस, १६ दिने अभियान आदि–लाई उपयोग गरी अन्तरक्रिया र छलफलका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यसले समाजमा सचेतना बढाउन मद्दत गरेको छ ।

एकल महिलाका लागि अझै छुट्टै नीतिगत व्यवस्था नभए पनि संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ता र केही पहलहरू रहेका छन् । तर संस्थागत स्तरबाट थप कदम चाल्न आवश्यक छ । शिक्षा, स्वास्थ्य, सीप विकास र प्रविधिसँग महिलालाई जोड्नु आजको आवश्यकता हो । विशेषगरी युवतीहरूलाई नेतृत्वमा ल्याउन निरन्तरता, धैर्यता, इमान्दारिता र विश्वासिलोपन आवश्यक हुन्छ ।

म विगतको संघर्षलाई सम्झँदा अहिलेको जिम्मेवारी सजिलो लाग्छ । तर अझै पनि महिलाले समाजमा पुरुषभन्दा बढी बोझ व्यहोर्नुपर्छ । त्यसैले हरेक क्षेत्रमा महिला सहभागिता र नेतृत्व बढाउन राज्य, समाज र सबै निकायले सहयोग गर्नुपर्छ ।


 

राधिका अर्याल (सचिव, नेपाल सरकार)

हाम्रो समाज पितृसत्तात्मक छ । पुरुषलाई प्राथमिकता दिने संस्कारका कारण महिलाको अवस्था पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म प्रायः उस्तै देखिन्छ । दुर्गम क्षेत्रमा समस्या अझै गहिरो हुन्छ भने सहर र सुगम क्षेत्रमा केही कम भए पनि मूल स्वरूप एउटै छ ।

म आफ्नो अनुभव बाट सुरु गर्न चाहन्छु । म काठमाडौंमै जन्मिएँ र यहीँको विद्यालयमा पढें । हाम्रो परिवारमा पाँच बहिनी र एक दाइ हुनुहुन्थ्यो । समाजको सोचका कारण मेरो भन्दामाथिका तीन दिदीलाई विद्यालय जाने अवसर मिलेन । तर दाइले पढाइसकेकाले पढाइको महत्व बुझ्नुभयो र मलाई र कान्छी बहिनीलाई विद्यालय भर्ना गरिदिनुभयो । यही पारिवारिक सहयोगका कारण हामी पढ्न सक्यौं । तर पढाइ मात्रले सबै समस्या समाधान हुँदैन, किनकि छोरीको उमेर भएपछि विवाह गर्ने दबाब, सामाजिक र संस्कृतिक बाध्यता अझै हुन्थ्यो । बाबु र दाइले सकारात्मक वातावरण बनाइदिनु भएकाले मात्र म आज यो स्थानसम्म आइपुगेकी छु ।

पछिल्लो चार दशकमा समाजमा ठूलो परिवर्तन देखिएको छ । महिलालाई अवसर दिइयो भने उनीहरूले नेतृत्व लिन सक्छन् भन्ने प्रमाण हामीले आफ्नै जीवनकालमा पाइसकेका छौं । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशदेखि मुख्य सचिवसम्म देखिसक्यौं । स्थानीय तहमा पनि प्रमुख र उपप्रमुख महिलाहरूले जिम्मेवारी वहन गरिरहेका छन् । यसको मूल आधार भनेको अवसर र पारिवारिक सहयोग हो ।

घर र कार्यालयको सन्तुलन भने महिलाका लागि अझै चुनौतीपूर्ण छ । घरको वातावरण राम्रो भएन भने कार्यालयमा असर पर्छ, कार्यालयको तनाव घरमा ल्याइयो भने परिवारमा समस्या हुन्छ । त्यसैले दुवै जिम्मेवारी मिलाएर जानुपर्छ । पुरुषले पनि घर–व्यवहारमा साथ दिनुपर्छ, तर हाम्रो समाज अझै पनि छोराछोरीलाई फरक व्यवहार गरेर हुर्काउँछ । छोरालाई बाहिर काम गर्ने, छोरीलाई घरमै सीमित हुने तालिम दिने परम्परा अझै जीवित छ । अब समय बदलिएको छ, महिलाहरू पनि घर बाहिर हिँडिरहेका छन् । त्यसैले सन्तुलन कायम गर्न पुरुषहरूले सहयोग गर्नैपर्छ भन्ने सोच विकास गर्न आवश्यक छ ।

कर्णाली लगायत दुर्गम क्षेत्रका युवतीहरूले नेतृत्वमा आउन चाहन्छन् भने उनीहरूलाई शिक्षा, स्वास्थ्य र सूचनामा पहुँच सुनिश्चित गर्नुपर्छ । शिक्षा ज्ञान बढाउँछ, स्वास्थ्य राम्रो भए मात्र जिम्मेवारी लिन सकिन्छ । पर्याप्त सूचना भएमा निर्णय क्षमतामा वृद्धि हुन्छ । त्यससँगै क्षमता विकासका अवसरहरू दिनुपर्छ । नेतृत्वमा आउन इमान्दारिता, जवाफदेहिता, उत्तरदायित्व र कठिन अवस्थामा निर्णय गर्ने क्षमता आवश्यक हुन्छ ।

महिलाविरुद्धको हिंसा हाम्रो समाजको गम्भीर चुनौती हो । महिलाहरू हिंसाबारे बोल्न थालेका छन् भने पुरुषहरू अझै लुकाउने प्रवृत्ति राख्छन् । यसले पुरुषलाई पनि मनोसामाजिक समस्या बढाएको तथ्यांकले देखाएको छ । हिंसा हुँदा महिलाहरू एकैपटक कमजोर हुन्छन्, किनकि उनीहरूको नाममा घर–जग्गा हुँदैन, आर्थिक स्रोत हुँदैन, आत्मनिर्भरता हुँदैन । त्यसैले पितृसत्तात्मक संरचनाले उनीहरूलाई अझै दबाइदिन्छ । यसलाई रोक्न सजग प्रहरी प्रशासन, न्यायिक समिति र अदालतहरूले छिटो न्याय दिनुपर्छ । छिटो न्याय पाए महिलाको आत्मबल बढ्छ र हिंसाको चक्र तोडिन्छ । संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको भएपनि व्यवहारमा अझै पूर्ण समानता छैन । विद्यालयदेखि कार्यालयसम्म असमान व्यवहार देखिन्छ । यसलाई अन्त्य गर्न शिक्षा, रोजगारी र सचेतनामा ध्यान दिनुपर्छ ।

घरमा महिलाले गर्ने कामलाई मूल्याङ्कन गर्ने सवालमा म व्यक्तिगत अनुभव पनि राख्न चाहन्छु । बिहानदेखि रातिसम्म घरधन्दामा महिलाले गर्ने कामलाई हामीले प्रायः ‘कामै होइन’ भन्ने सोच राख्छौं । तर यदि बाहिर सहयोगी राखियो भने तिनलाई पैसा तिर्नैपर्छ । त्यसैले यो कामलाई आर्थिक मूल्य दिन जरुरी छ । यसबारे महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले केही वर्षदेखि पहल गर्दै आएको छ, र यसलाई पूर्णता दिनु जरुरी छ ।

नेतृत्वमा महिलाको उपस्थिति बढाउन अवसर, क्षमता विकास, पहुँच र सकारात्मक वातावरण अनिवार्य छ । महिलाले जिम्मेवारी लिन सक्छन् भन्ने विश्वास समाजमा जगाउनु पर्छ । महिलाले पनि आफूमाथि विश्वास राख्नुपर्छ । जिम्मेवारीलाई इमान्दारीपूर्वक वहन गर्न सके मात्र आगामी पुस्तालाई प्रेरणा दिन सकिन्छ । महिलाहरू अझै सीमित सूचनाको घेरामा बस्ने प्रवृत्ति देखिन्छ, त्यसैले सूचना पहुँच विस्तार गर्नु पनि आवश्यक छ ।

अन्त्यमा, हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने– छोरीलाई समान अवसर दिन सकियो भने उनीहरूले नेतृत्व लिन्छन्, जिम्मेवारी पूरा गर्छन् र समाजलाई परिवर्तन गर्छन् । सकारात्मक वातावरण, पारिवारिक सहयोग र इमान्दार प्रयत्नले मात्र हामीले लैंगिक समानता र सशक्तिकरणको सपना पूरा गर्न सक्छौं ।


(ऋति फाउन्डेसनले २०८१ फागुन ५ देखि ७ गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको छैटौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः हरेक हप्ताको मंगलवार साझा बिसौनी दैनिकमा प्रकाशित हुनेछन् ।)

प्रकाशित मितिः   ३ भाद्र २०८२, मंगलवार ०९:४६