अटोरिक्सा व्यवस्थापन
सहरी क्षेत्रमा छोटो दुरीको यात्राका लागि अटोरिक्साको प्रयोग बढ्दो छ । पर्याप्त सार्वजनिक यातायात नभएपछि सहरभित्र आउजाउका लागि रिक्सा उपयोगी बनेका छन् । सहरभित्र मात्रै होइन पछिल्लो समय गाउँ–गाउँसम्म रिक्सा पुगेका छन् । तीन पांग्रे सवारी साधनको गाउँ प्रवेश सुरक्षित भने होइन । त्यसो त सहरी क्षेत्रमै पनि दिनहुँ दुर्घटना भइरहेका छन् । वीरेन्द्रनगरमा पनि पछिल्लो केही वर्षयता अटोरिक्साको प्रयोग बढेको छ । यसले यात्रुहरूलाई सुविधा दिएको छ । छोटो दूरीको यात्राका लागि रिक्सा सहज माध्यम बनेको छ । धेरैलाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ । तर अटोरिक्साले सुविधासँगै जोखिम पनि बढाएको छ । अटो रिक्साको मनपरीले क्षति निम्त्याइरहे पनि नियमन गर्नुपर्ने निकायको ध्यान भने पुगेको छैन ।
अटोमा यात्रा गर्दा जोखिम पनि उस्तै छ । अधिकांश चालकहरूसँग सवारी लाइसेन्स छैन । लाइसेन्सविनाका चालकले तीव्र गतिमा हाँक्दा दुर्घटनासमेत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्सालाई व्यवस्थित सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको गुनासो बढेपछि नगरपालिकाले वि.सं. २०७५ सालमै निर्देशिका बनाइ सोहीअनुसार सञ्चालन गर्न भनेको थियो । उक्त निर्देशिकामा उपत्यकाका सबै क्षेत्रमा रुट र भाडादरसमेत तोकिएको छ । निर्देशिकाअनुसार वीरेन्द्रनगर उपत्यकाका जुनसुकै ठाउँमा पुग्न पनि ६० रूपैयाँभन्दा बढी भाडा लिन नपाइने भनिएको छ । भाडादरमा एकरूपता छैन । एउटै दुरीमा पनि चालक अनुसार फरक–फरक भाडा लिने गरिएको छ । छोटो वा लामो दुरीको भाडामा एकरूपता नहुँदा सेवाग्राहीहरू ठगिएका छन् । भाडा दर कायम, पार्किङ्ग र रुट व्यवस्थापन नहुँदा अटो रिक्साहरू जथाभावी रूपमा चलिरहेका छन् । जथाभावी रूपमा चल्ने ई–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा चुनौति बढेको छ । स्थानीय निकायहरू रिक्सा नियमन र व्यवस्थापनमा जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय प्रशासन र ट्राफिक प्रहरीसँगको समन्वयमा रिक्साको मनपरी नियन्त्रण गर्न सक्दछ । सुरुवातदेखि नै व्यवस्थित गरिनुपर्ने रिक्साहरूलाई यत्तिकै छोड्दा समस्या बढेको हो ।
अटोरिक्साको संख्या उल्लेख्य बढेको छ । तर वीरेन्द्रनगर नगरपालिकमा हालसम्म करिब एक हजार दुई सय मात्रै अटो तथा ई रिक्सा दर्ता भएका छन् । यद्यपि तीन हजारभन्दा बढी गुड्ने गरेको बताइन्छ । आवश्यक भन्दा धेरै अटो वीरेन्द्रनगरमा भित्रिएपछि दुर्घटनासँगै अन्य जोखिमहरू हुने गरेका छन् । पछिल्ला केही दिनयता वीरेन्द्रनगरमा लगातार अटो दुर्घटना भइरहेका छन् । यसलाई नियन्त्रण गर्न नगरपालिकाले अटोरिक्सा सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने देखिएको छ ।
प्रकाशित मितिः २८ श्रावण २०८२, बुधबार १४:२१
सम्पादकीय ।