जीवनपर्यन्त सिकाइ निरन्तरतामा जोड
सुर्खेत: अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे नीति तथा कार्यक्रमहरू र भावी कार्यदिशा निर्माण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको अनौपचारिक तथा वैकल्पिक सिकाइ कार्यक्रमअन्तर्गत द्रुत सिकाइ कार्यक्रमसम्बन्धी प्रदेशस्तरीय छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।
कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत् जीवनपर्यन्त सिकाइका कार्यक्रम सञ्चालन भइरहेका छन् । संघीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्यूँताउन सिकाइ केन्द्रको भूमिका अहम देखिएको छ । मानिसको जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन अनौपचारिक शिक्षा तथा आजीवन सिकाइलाई जोड दिनुपर्ने आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन् । जीवनपर्यन्त सिकाइले रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्न मद्दत पुर्याउने उनको भनाइ छ ।
सिकाइ अनन्तकालसम्म चलिरहने प्रक्रिया भएकाले यसलाई निरन्तर र प्रभावकारीरूपमा सञ्चालन गर्न सबैको भूमिका आवश्यक भएको कियर नेपालका कार्यक्रम प्रबन्धक रविन्द्र कुमालले बताए । स्थानीय सरकारको मातहतमा रहेका सामुदायिक सिकाइ केन्द्रलाई चलायामान बनाउन सकेमा सिकाइ केन्द्र प्रभावकारी हुने उनको भनाइ छ । उनले प्रत्येक मानिस जन्मेदेखि सिक्दै आएका विषय आजीवन सिकाइमा पर्ने भएकाले समाज सुहाउँदो सिकाइ अभिवृद्धिका लागि स्थानीय तहले प्रभावकारी नीति कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । संविधानले शिक्षा तथा सिकाइमा सबैको पहुँच हुनुपर्नेमा जोड दिएको बताउँदै उनले कार्यान्वयनका लागि स्थानीय सरकार, नागरिक समाजलगायत सरोकारवाला सबैले संयुक्तरूपमा काम गर्नुपर्ने बताए ।
आवाज संस्थाको आयोजना, समाजिक विकास मन्त्रालयको समन्वय र केयर नेपालको सहकार्यमा छलफल कार्यक्रम गरिएको थियो । बालिका सशक्तिकरण कार्यक्रमअन्तर्गत विद्यालय बाहिर रहेका सीमान्तकृत समुदायका किशोरीहरूको शिक्षामा पहुँच र अवधारणा सुधार गर्नका लागि सिकाइ केन्द्रमार्फत सिकाइ भइरहेको कार्यक्रमका संयोजक तपेन्द्र साउँदले बताए । द्रुत उडान केन्द्रमार्फत आधारभूत शिक्षा प्राप्त गदै जीवन उपयोगी र नेतृत्व विकास सीपहरू निर्माण गर्ने गरिएको छ । बालिकाहरूको शिक्षामा समान पहुँचमा सुधार गदै परिवार र समुदायसँग विभिन्न क्रियाकलाप गर्ने, बालिकाका लागि घर र विद्यालयमा सुरक्षित र समान सिकाइ वातावरण सुनिश्चित गर्न र सबै प्रकारका हिंसा, शोषण र हानिकारक अभ्यासहरूबाट सुरक्षित राख्न काम गर्ने काम गरिरहेको छ । परियोजनाले सुर्खेतका गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा काम गरिरहेको छ । छलफलमा केयर नेपालको तर्फबाट कार्यक्रमको बारेमा प्रस्तुतिकरण नवराज शर्मा, सामाजिक विकास मन्त्रालयबाट सामाजिक विकास महाशाखा प्रमुख सुर्वणकुमार खड्का र शिक्षा शाखा प्रमुख वलवीर सुनाले गरेका थिए ।
प्रकाशित मितिः २४ श्रावण २०८२, शनिबार ०६:०१
साझा बिसौनी ।