मन्त्री भण्डारीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एक वर्षे प्रगति समीक्षा सार्वजनिक गरेका छन् । बिहीवार पत्रकार सम्मेलनमार्फत् उनले मन्त्रीको कार्यभार सम्हालेयताको एक वर्षमा गरिएका कार्यसम्पादन र उपलब्धिहरूलाई समेटेर ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ शीर्षकमा समीक्षात्मक पुस्तिका नै सार्वजनक गरेका हुन् ।

पुस्तिकामा मन्त्रालयको विषयगत क्षेत्रहरूलाई समेटिएको छ । जसमा स्वास्थ्यतर्फ विभिन्न रोगका बिरामीहरूको शल्यक्रियामा उपचार सहायता प्रदान गरिएकोदेखि कर्णाली प्रदेश अस्पतालको स्तरोन्नतिका लागि अध्ययन समति गठन गरिएकालगायत उपलब्धि देखाइएको छ । त्यसैगरी प्रदेशअन्तर्गतका सबै अस्पतालहरूको गुणस्तर सुधारका लागि कार्ययोजना तयार गरिएको पनि मन्त्रि भण्डारीले जनाएका छन् ।

सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्रभित्र पर्ने शिक्षातर्फको उपलब्धिमा विद्यालयहरूको भौतिक पूर्वाधार विकासदेखि दश वर्षे शिक्षा योजनाको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ । शिक्षक तालिम तथा क्षमता अभिवृद्धि, मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय विकास कार्यविधि स्वीकृत, एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालनलगायत उपलब्धिमा समावेश गरिएको छ ।

यसैगरी सामाजिक विकासतर्फ वार्षिक कार्यक्रम सञ्चालन गर्न दिग्दर्शन तयार, बालविवाह अन्त्यका लागि प्रादेशिक रणनीति मस्यौदा निर्माणसहितका उपलब्धि मन्त्री भण्डारीले आफ्नो समीक्षा पुस्तिकामा उल्लेख गरेका छन् । त्यसबाहेक युवा तथा खेलकुद, भाषा, धर्म तथा संस्कृतिलगायतका क्षेत्रमा मन्त्रालयले गरेको काम पनि समावेश गरिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भण्डारीले २०८१ साउन २० गते सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मन्त्री भण्डारीले उपलब्धिहरू सार्वजनिक गर्दै प्रशासनिक अस्थिरता सबैभन्दा ठूलो चुनौती रहेको समेत जनाएका छन् । ‘अस्थिर राजनीतिको सबैभन्दा ठुलो मार जनसेवामूलक निकायमा पर्दो रहेछ,’ उनले भने, ‘मेरो एक वर्षे कार्यकालमा तीन जना सचिव फेरिनुभयो । यसले राजनीतिक–प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता बढाएको मैले महशुस गरेँ ।’

प्रकाशित मितिः   २३ श्रावण २०८२, शुक्रबार ०५:०१