बजार अनुगमनमा तीव्रता

सुर्खेत: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुुर्खेतले बजार अनुगमनलाई बढाएको छ । खाद्य वस्तुहरूको गुणस्तर परीक्षणका लागि अनुगमन र निरीक्षणलाई तीव्र पारिएको कार्यालयले जनाएको छ ।

सोमवार वीरेन्द्रनगरमा आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षाका क्रममा कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । कार्यप्रगति सार्वजनिक गर्दै कार्यालय प्रमख भेषबहादुर थापाले खाद्य वस्तुको गुणस्तर कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाइएको जानकारी दिए ।

कर्णालीका ६ जिल्ला हेर्दै आएको कार्यालयले यो अवधिमा विभिन्न ठाउँमा अनुगमन गरेको छ । दैलेख, सुुर्खेत, जाजरकोट, रूकुुम–पश्चिम, डोल्पा र हुुम्लामा अनुुगमन गरिएको हो । कार्यालय प्रमख थापाले पछिल्लो समय दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएको बताएका छन् । ‘बजारमा बेच्न राखिएका खाद्य वस्तुको गुणस्तर मापदण्डविपरीत हुने गरेको पाइएको छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरिएको छ ।’ उपभोक्ताको स्वस्थ खाद्य अधिकारको लागि व्यवसायीलाई जिम्मेवार बनाउन नियमित खबरदारी गरिरहेको कार्यालय प्रमुख थापा बताउँछन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले हालसम्ममा नौ सय २४ वटा अनुगमन गरेको छ । जसमा कार्यालयले पाँच सय १२ र संयुक्त अनुगमन चार सय १२ वटा अनुगमन गरिएको हो । यसैगरी हालसम्म २४ वटा मुद्दा उठान भएका छन् । जसमध्ये दुई वटा मुद्दा दायर गरिएको छ भने ६ वटा सम्बन्धित कार्यालयमा पठाइएको छ । १६ वटा अनुसन्धानको क्रममा रहेका छन् ।

यसैगरी एक हजार एक सय एक वटा नमुना प्रयोगशालामा नमुना विश्लेषण गरिएको थियो । जसमध्ये एक सय पाँच वटा प्रतिकुल देखिएको छ । गुणस्तरहीन ती खाद्य सामग्री नष्ट गरिएको छ । यो अवधिमा ६ लाख २१ हजार ६ सय ४० रूपैयाँ राजश्व संकलन गरिएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २० श्रावण २०८२, मंगलवार ०९:२१