‘प्रदेशको पुर्नसंरचना अपरिहार्य’
सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्रालय तथा निकायहरूको पुर्नसंरचना आवश्यक रहेको बताएका छन् । औचित्य र आवश्यकताका आधारमा प्रदेश संरचनामा सुधार आवश्यक रहेको उनले बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश संरचनाको औचित्य सावित गर्न पनि प्रदेशअन्तर्गतका मन्त्रालय तथा निकायहरूको वैज्ञानिक पुर्नसंरचना आवश्यता रहेको धारणा राखेका छन् । कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुर्नसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफ्ना सरोकारका विषयहरू राख्दा मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दे लैजानुपर्ने बताए । आयुर्वेद चिकित्सकहरूसँगको छलफलमा उनले प्रशासनिक पुर्नसंरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए ।
प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरू भयवित नहुन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिए । उनले भने, ‘कर्णालीमा सेवा गर्न आउनु भएको छ, तपाईंहरूको वृत्ति विकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्देन, भयवित बनाउन खोजिएको छ,तपाईहरू भयवित नुहनुहोस् ।’
मुख्यमन्त्री कँडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभइ त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउने जानकारी पनि दिए । उनले समयको माग र आवश्कतालाई दृष्टिगत गरी ढिलो चाँडो संरचनाहरू पुर्नंसंरचना गर्ने पर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी रहेको बताए ।
प्रदेशले अरुको नक्कलभन्दा आफ्नै प्रदेशको आवश्यकताका आधारमा आफ्ना संरचनाको विकास र पुर्नसंरचना गर्नुपर्ने बताए । उनले भने, ‘कुनैबेला व्यक्ति व्यवस्थापन गर्न झ्याल–झ्यालमा मन्त्रालयको साइन बोर्ड झुण्ड्याएर विकृति भित्रिने काम गरियो, त्यसले समग्र प्रदेशको औचित्यमाथि नै प्रश्न उठायो, अब त्यस्ता विषयलाई पुनरावृत्ति नहुने गरी हामीले सोच्नैपर्छ ।’
प्रशासनिक पुर्नसंरचनाका सम्बन्धमा यसअघि पनि सरकारलाई प्रतिवेदन बुझाइएको आफूले सुनेको तर सार्वजनिक नभएको बताउँदै मुख्यमन्त्री कँडेलले यसपटक सबैले थाह पाउन सक्नेगरी प्रतिवेदनलाई सार्वजनिक गरिएको बताए । उनले भने, ‘प्रतिवेदन सुझाव हो, राम्रा र कार्यान्यवन योग्य विषयहरू लिन सकिन्छ, लुकाउनुपर्ने कुनै कारण छैन ।’ मुख्यमन्त्री कँडेलले प्रदेशका संरचनालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पुर्नसंरचना गर्दा सरोकारवालासँग व्यापक छलफल गरिने समेत जानकारी दिए ।
प्रकाशित मितिः ११ श्रावण २०८२, आईतवार ०५:०१
साझा बिसौनी ।