अमरज्योतिको प्रशासनिक भवन शिलान्यास

सुर्खेत: अमरज्योति माध्यमिक विद्यालयको ३३ कोठासहितको प्रशासनिक एवम् शैक्षिक भवन निर्माण हुने भएको छ । शनिवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भवनको शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयहरूलाई भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर दुवै हिसाबले अब्बल बनाउनुपर्ने बताए । उनले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको पनि औल्याए । ‘अब हामीले व्यावहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणालीलाई अवलम्बन गर्दै भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्छ’ उनले भने ।

शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नु आवश्यक रहेको औल्याउँदै उनले शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्त्वपूर्ण हुने जनाए । प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गरे । त्यसका लागि शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको औल्याए । ‘शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनुपर्छ’ मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

पाँच करोड ८९ लाख २४ हजार रूपैयाँ लागतमा ३३ कोठाको भवन निर्माण हुन लागेको हो । २०८३ पुस १५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, शिक्षा विकास निर्देशनालयका प्रमुख दिपा हमाललगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः   १० श्रावण २०८२, शनिबार २०:०५