मदन भण्डारी राजमार्गः रुख कटानको अड्चन हट्यो

सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्ड निर्माणमा देखिएको अड्चन हटेको छ । रूख कटानको अनुमति नपाउँदा लामो समयदेखि सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । अब भने निर्माणले गति लिने भएको छ । रूख कटानको अनुमति पाएसँगै आयोजनाको काम अघि बढ्ने भएको हो ।

सडक क्षेत्रमा पर्ने बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा १०.३९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका आठ सय ६४ वटा रूख काट्न सरकारले स्वीकृति दिएको छ । यो स्वीकृति कार्यान्वयनका लागि वन तथा भू–संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासँगै बड्डीचौर–खम्बागाडे खण्डको अड्चन सकिएको हो । पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीका अनुसार अबको केही दिनभित्रै रूख कटानको प्रक्रिया थालिने छ । पश्चिम सुर्खेतमै पर्ने अन्य दुई खण्डमा धमाधम काम भइरहे पनि जग्गा प्राप्ति र रूख कटान अनुमतिमा देखिएको अड्चनका कारण काम रोकिएको थियो । आयोजनामा सबैभन्दा जटिल मानिएको जग्गा प्राप्ति र रूख कटानजस्ता व्यवधान हटेकाले अब निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने जनाइएको छ ।

हालसम्म उक्त सडक खण्डको २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो । तर अनेक व्यवधानका कारण सम्पन्न हुन सकेन । हालसम्म कामको प्रगति निकै न्यून छ । निर्माण कम्पनीले रूख कटान र जग्गा प्राप्तिको विषयलाई ढिलाइको प्रमुख कारण देखाउँदै आएको थियो । प्रदेश सरकारले आयोजनाको म्याद २०८२ असार १२ सम्म थप गरे पनि काम अघि बढ्न नसकेपछि पुनः २०८३ असारसम्मका लागि समयसीमा बढाइएको छ । पछिल्लो समय, सहायक ठेकदार जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य ठेकदार कम्पनी ‘अनक’ आफैँले निर्माणको सम्पूर्ण जिम्मेवारी लिएको छ ।

 

अन्य खण्डको काम तीव्र

बड्डीचौर–खम्बागाडे खण्डमा काम अघि नबढे पनि अन्य भागमा भने निर्माण कार्यले तीव्रता पाएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार, खम्बागाडेदेखि लगामसम्मका विभिन्न तीन खण्डमा गरी ४७ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर र बल्देदेखि लगामसम्मको १५ किलोमिटर गरी २५ किलोमिटर खण्डमा यती बिल्डर्सले एक अर्ब ३६ करोडको लागतमा काम गरिरहेको छ ।

त्यस्तै, विद्यापुरदेखि गुटु, बिजौरा हुँदै बल्देसम्मको २२ किलोमिटर खण्डमा बानियाँ मोतिदान डीएस जेभीले एक अर्ब २१ करोडको लागतमा निर्माण गरिरहेको छ । यो राजमार्ग केवल सुर्खेतको पश्चिमी क्षेत्रलाई सदरमुकामसँग जोड्ने माध्यममात्र होइन, यो सुदूरपश्चिमका कैलाली र डोटीलाई कर्णालीको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबैभन्दा छोटो र रणनीतिक मार्ग पनि हो । वीरेन्द्रनगरदेखि बड्डीचौरसम्म कर्णाली राजमार्ग प्रयोग हुन्छ भने त्यसपछि पश्चिम सुर्खेतको मुहार फेर्ने यात्रा यही राजमार्गले तय गर्छ । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समेत विभिन्न समयमा निर्माणको काममा भएको ढिलाइबारे जानकारी लिने र निर्देशन दिने गरेका छन् । केही समय अघि ठेकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा नै बोलाएर काम गर्न ढिलाइ हुनुका कारणबारे स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मितिः   १० श्रावण २०८२, शनिबार ११:००