सचेतना जगाऊ

पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिन थालेका छन् । संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढ्दै गएको छ । ज्वरोसहित डेंगुका लक्षण देखिएका अधिकांश बिरामीलाई गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने गरेको छ । पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले पनि डेंगु संक्रमण बढ्दै गएको देखाएको छ । कर्णाली प्रदेशभर आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३९ जना डेंगुका बिरामी भेटिएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० एक हजार चार सय ८४ जना, आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ७१ जना र आर्थिक वर्ष २०८१/०८२ मा एक हजार आठ सय ३७ डेंगुका बिरामी भेटिएका थिए ।

यसैबीच सरकारले डेंगु संक्रमण नियन्त्रण गर्न राष्ट्रिय सचेतना अभियान सुरु गरेको छ । साउन महिनादेखि डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले सचेतना अभियान सुरु गरिएको छ । लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको चार महिना सवै नागरिकका साथै निकायहरू सजक बनाउनका लागिएको हो । डेंगुसँगसँगै कर्णालीमा बर्सेनि औलोको जोखिम पनि बढिरहेको छ । यहाँका हिमाली जिल्ला पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात सेवासँग जोडिँदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोखिममा परेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशभरिमा ३८ जना औलोका बिरामी पहिचान भएका छन् ।

निर्देशनालयका अनुसार हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका वराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलोका बिरामी फेला गरेका छन् । यहाँका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वटा वडा औलोरोगको उच्च जोखिममा छन् । सात वटा वडामा मध्यम जोखिम रहेको, चार सय १० वटा वडामा निम्न जोखिम रहेको पाइएको छ । त्यसैले पछिल्लो समय फैलिदै गएको डेंगु र ओलो दुवै रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम जरुरी देखिएको छ ।

प्रकाशित मितिः   ६ श्रावण २०८२, मंगलवार ०५:०३