विद्यालयमा ‘शिक्षासँगै सीप’ तालिम

‘झोलाविहीन शुक्रवार’ कार्यक्रम कार्यान्वयन

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको हो ।

पछिल्लो समय विद्यालयमा शुक्रवार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभइ सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ देखि कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि चालु आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ ।

विद्यालयहरूमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्नेगरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणको रूपमा सञ्चालन गर्नेगरी कार्यक्रम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । गत वर्ष परीक्षणको रूपमा कार्यक्रम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले बताइन् । उक्त वर्ष सुर्खेतका चार पालिकाका आठ वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । पञ्चपुरी, लेकवेशी र भेरीगंगा नगरपालिकाका एक÷एक वटा र वीरेन्द्रनगर नगरपालिकाका पाँच वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । यो वर्षदेखि प्रदेशभर नै कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको प्रदेश सरकारले जनाएको छ ।

निमित्त निर्देशक हमालले भनिन्, ‘पछिल्लो समय बालबालिका आफै पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन इच्छुक देखाउने हुँदा हप्ताको एक दिन अर्थात् शुक्रवार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउने गरी कार्यक्रम कार्यान्वयन गराउनेछाैँ ।’ बालबालिकाले दैनिक रूपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लो बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन हुनेछ । विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउने प्रमुख लक्ष्य कार्यक्रमको रहेको हमालको भनाइ छ । विद्यार्थीलाई कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद् पूर्वतयारीका लागि भवन निर्माण, रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला लगायतका विषयमा विद्याहरूलाई व्यवहारिक ज्ञान सिकाइनेछ ।

कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरू सहभागी हुने छन् । जीवन उपयोगी सीपको आधारमा दिइने शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सीप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थीहरू सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको निर्देशक हमालले बताइन् ।

कार्यक्रम प्रभावकारी मानिएको भएपनि बजेट भने सरकारले पर्याप्त विनियोजन गरेको छैन । गत वर्ष परीक्षणको रूपमा कार्यक्रम कार्यान्वयन गर्नेगरी ३५ लाख बजेट विनियोजन गरिएको थियो । सुर्खेतका चार पालिकाका आठ सामुदायिक विद्यालयमा कार्यक्रम लागू गरियो । कार्यक्रम प्रभावकारी भएसँगै यो वर्ष पनि निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा ६ लाख २५ हजार मात्र बजेट विनियोजन भएको छ । यो वर्ष प्रदेशभर कार्यक्रम कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि थप बजेट माग गरिने मन्त्रालयका महाशाखा प्रमुख सुर्वणकुरमा खड्काले बताए । उनका अनुसार विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यवहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, सङ्गीत र साहित्य लगायतका अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रम राखिएको जानकारी दिए । थप बजेट माग गरेर प्रदेशभर कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः   ६ श्रावण २०८२, मंगलवार ०५:०५