सचेतनाको खाँचो

दैनिकजसो प्रहरीले लागुऔषध बरामद गर्छ । लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्छन् । यो क्रम बर्सेनि बढ्दै गएको छ । यसले के देखाउँछ भने कर्णालीमा लागूऔषधको प्रयोग र कारोबार बढेको छ । दूव्र्यसनी बढ्दै गएको छ । त्यसमा संलग्नहरूको संख्या पनि वृद्धि भइरहेको छ । प्रहरीको तथ्यांकअनुसार पनि पछिल्लो समय कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा छ । प्रत्येक वर्ष कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।

कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्नता बढी देखिन्छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको अध्ययनले देखाउँछ । यसमा १५ देखि ३५ वर्षसम्मका युवायुवतीहरू बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला–पुरुष लागुपदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन् । प्रदेशमा रूपैडिया, गड्डा चौकी नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार प्रदेशभर आर्थिक २०८१/०८२ मा लागुऔषधसम्बन्धीका एक सय ८७ मुद्दा दर्ता भएका छन् । दुई सय ८७ पुरुष र १९ जना महिला पक्राउ परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा एक सय ६ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका थिए । एक सय ६० जनापुरुष र आठ जना महिला पक्राउ परेका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक सय १४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता हुँदा एक सय ९९ पुरुष र १६ जना महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ६४ जना पुरुष र आठ जना महिला पक्राउ परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ८४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष एक सय २१ जना पुरुष र १५ महिला पक्राउ परेका थिए ।

नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुन्छ । त्यहीँबाट अवैधरूपमा नेपाल भित्र्याउने गरिएको छ । बाँके हुँदै कर्णालीमा भित्रिने गरेको छ । यसको नियन्त्रणका प्रयास भने भइरहेका छन् । तर नियन्त्रण हुन सकिरहेको छैन । लागूऔषधि नियन्त्रणका लागि संलग्नहरूलाई नियन्त्रणमा लिनुका साथसाथै सचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   ५ श्रावण २०८२, सोमबार ०५:०३