राउटे संरक्षण योजना

आजको आधुनिक समयमा पनि राउटे समुदायको परम्परागत अस्तित्व कायम छ । लोपोन्मुख अवस्थामा रहेका राउटेको जीवनशैली परम्परागत नै छ । र, त्यो नै आजको समयमा अनौठो र रहस्यमय छ । मानिसहरू हरेक दिन आफ्नो जीवनशैलीमा रूपान्तरण गर्न खोजिरहेका छन् । विज्ञान र प्रविधिको भरपूर उपयोगबाट आफूलाई अझ अब्बल बनाउन उद्यत छन् । यद्यपि, यही समाजको एउटा हिस्सा भएर पनि राउटेहरू आफूलाई आधुनिक होइन परम्परागत जीवनशैलीमै राख्ने प्रयत्न गरिरहेका छन् । पछिल्लो उनीहरूको जीवनशैली, व्यवहार र सोचमा समेत केही परिवर्तन देखिए पनि ठूलो रूपान्तरणको अवस्थामा पुगिसकेको छैन । जंगली युगकै प्रतिनिधित्व गर्ने समुदायकोरूपमा यथावत छ । तर उनीहरूको सामुहिक अस्तित्व नै संकटमा पर्दै गएको देखिन्छ ।

गैरराउटे समुदायसँगको घुलमिलले राउटेको खानपिनमा केही बदलाव आएको छ । त्यसो त यसले असुरक्षा पनि बढाएको छ । बस्तीमा बाह्य नागरिकको खुल्ला प्रवेश, अत्यधिक मदिरा सेवन र आधुनिक खानपानका कारण राउटेको मौलिक परम्परा मासिएको र अस्तित्व नै संकटमा पर्न थालेको छ । घना जंगलहरू खोज्दै बस्ने राउटे पछिल्लो समय गैरराउटे समुदायको बस्तीका आसपासमा आफूलाई केन्द्रित गर्न थालेका छन् । वैधानिकरूपमा नागरिकता नलिए पनि नेपालमै बसोबास गर्दै आएका कारण राज्यले पनि उनीहरूको संरक्षणमा ध्यान दिन थालेको छ । विशेष गरेर कर्णाली प्रदेशभित्रै केन्द्रित राउटे समुदायको संरक्षणका लागि अलग्गै नीति निर्माण पनि हुने भएको छ । कानुन नै बनाएर राउटे समुदायको संरक्षण र उनीहरूको मौलिक पहिचानको संरक्षण गर्न लागिएको हो । त्यसका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समन्वय समिति गठन गरेको छ । राउटे समुदायको संरक्षण गर्न आवश्यक ऐन निर्माणका लागि विधेयक बनाउने, राउटेको प्रोफाइल तयार पार्ने र राउटे करिडोरको खाका तयार गर्नका लागि समिति गठन गरिएको हो ।

सरकारले अबको एक महिनाभित्र राउटेको प्रोफाइल तयार पार्ने, पछिल्लो दश वर्षमा राउटे समुदाय बसोबास गरेको स्थानको पहिचान गरेर राउटे करिडोर तयार पार्ने र छुट्टै कानुन निर्माण गर्ने तयारी भइरहेको छ । यसले उनीहरूको संरक्षण, सहजताका साथसाथै पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ । नीति नै बनाएर राउटेको मौलिक पहिचान र अस्तित्वको संरक्षण गर्ने प्रदेश सरकारको योजना स्रहानीय छ । अब सरकारले राउटे समुदायको मौलिक पहिचान जोगाउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेतर्फ ध्यान दिन जरुरी छ । उनीहरूको कला, संस्कृति र पहिचानलाई जोगाउनु राज्यको दायित्व पनि हो ।

प्रकाशित मितिः   ४ श्रावण २०८२, आईतवार ११:५३