सुल्झियो विवाद
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा ढिलाइसमेत भएको छ । तीन तहकै सरकारको प्राथमिकतामा विद्युत विस्तार योजना परेसँगै आयोजनाको अवरोध हटेको हो । गृहमन्त्री रमेश लेखकले अवरोध हटाउन बाँके प्रशासनलाई निर्देशनसमेत दिएका थिए । सोही लगत्तै केही दिनअघि सुरक्षा घेराबाट राष्ट्रिय निकुञ्जमा फाउन्डेसन निर्माण गरिएको थियो । अहिले आयोजना निर्माणको काम धमाधम अघि बढेको छ । बैजनाथको विवाद समाधान भएसँगै आयोजना निर्माणको कामले गति लिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । विवाद समाधान भएसँगै उक्त बस्तीमा तीन वटा टावर निर्माण गरिनेछ भने ३० घरपरिवार प्रभावित हुनेछन् । अबको ६ महिनामा काम सक्नेगरी योजना निर्माण गरिएको छ । यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुनामा पनि विवाद सुल्झिएको छ । उक्त स्थानका नागरिकले पनि काममा अवरोध गर्दै आएका थिए । आयोजनाबाट उक्त वडाका १८ घरपरिवारको जग्गा प्रभावित हुनेछन् । सरकारले जसरी पनि आयोजनाको काम अघि बढाउने भनेपछि स्थानीय सहमतिका आएका छन् । सरकारले वार्तामार्फत सहमति नभए बलप्रयोग गरेर आयोजना अघि बढाउने भनेपछि स्थानीय पनि सहमतिमा आएका हुन् । वडा नं. ११ सुब्बाकुनामा भने केही दिनमा काम सुरु गरिने छ ।
लामोसमयदेखि थालिएको पहलले सार्थकता पाएको छ । अब भने आयोजना निर्माणको कामले गति लिनेछ । ६ महिना म्याद थपका लागि फाइल पेस गरिएको छ । म्याद थप गरेर आयोजना निर्माणको काम अघि बढाइनेछ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । अब मात्र पाँच प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकै मितिमा काम समेत गर्न सकेको छैन । अहिले भने विवाद समाधान भएसँगै बाँकी ठाउँमा काम अघि बढाइएको छ । रुख कटानको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब पाँच हजार रुख काटिएको छ । अब ६ वटा फाउन्डेशन निर्माण गर्नुपर्ने हुन्छ । उक्त क्षेत्रमा विवादित समाधानभएसँगै फाउन्डेशन निर्माणको काम अघि बढाइएको छ ।
प्रकाशित मितिः ३२ असार २०८२, बुधबार १४:१४
सम्पादकीय ।