नक्कली नोटसहित पाँचजना पक्राउ

सुर्खेत: १३ लाख रूपैयाँ बराबरका नक्कली नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । संगठित अपराधमा सक्रिय रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ समकोट गमौडी घर भइ हाल सुर्खेतको भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बिक रहेका छन् । कालीकोटको नरहरीनाथ गाउँपालिका घर भइ बाँकेको कोहलपुरमा बस्ने अन्दाजी ३४ वर्षीय मनबहादुर सहकारी पनि पक्राउ परेका छन् ।
प्रहरीले सुरुवातमा सोमवार वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलबाट ६ हजार रूपैयाँ नक्कली नोटसहित दिलमाया सिंह ठकुरीलाई पक्राउ गरेको थियो । उनको बयानको आधारमा प्रहरीले सोही दिन रामबहादुर सिंहको डेरामा छापा मारी १२ लाख ३६ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद ग¥यो । अनुसन्धानलाई थप अगाडि बढाउँदै प्रहरीले जाजरकोटकै कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्ण बहादुर वलीलाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलोग्राम ३७२ ग्राम अफिमजस्तो देखिने पदार्थसहित पक्राउ ग¥यो ।
यही गिरोहको अनुसन्धान गर्ने क्रममा प्रहरी टोली बाँकेको कोहलपुरसम्म पुग्यो । कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको ‘जनगर्जन नेटवर्क प्रा.लि.को कार्यालयमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको थियो । त्यहाँबाट मन बहादुर सहकारी र एक अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले त्यहाँबाट थप ५१ हजार रूपैयाँ नक्कली नोट, १९ किलो तीनसय ग्राम अफिमजस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्यूटर, कार्ड रिडर, क्यामेरालगायतका उपकरणहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागुऔषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मितिः ३२ असार २०८२, बुधबार १४:१४
साझा बिसौनी ।