वीरेन्द्रनगरमा पहिलो पटक ‘ट्राफिक लाइट’

सुर्खेत: वीरेन्द्रनगरमा पहिलो पटक सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–६, स्थित वीरेन्द्र चोकमा केही दिनअघि जोडिएको ट्राफिक बत्ती बुधवारदेखि सञ्चालनमा आएको छ ।

आवश्यक प्राविधिक परीक्षणपश्चात् जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई हस्तान्तरण गरेकी हुन् । चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्र चोकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

नगरप्रमुख ढकालले वीरेन्द्रचोकबाट सुरुवात गरिएको ट्राफिक बत्ति अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइन् । रत्न राजमार्ग अन्तर्गत यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोकमा सडक विभाग र मुलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्ने जनाइएको छ ।

नगरप्रमुख ढकालले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सीसी क्यामेरासमेत जडान गर्न लागिएको बताइन् । नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चोकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया पनि अघि बढाउन लागेको छ ।

यसका लागि दुई करोड बजेट व्यवस्थापन भइ ठेक्का प्रक्रिया अघि बढाइएको छ । दोस्रो चरणमा यरीचोक, पीपिरा चोकलगायतका स्थानमा पनि आकाशे पुल निर्माणलाई निरन्तरता दिइने नगरप्रमुख ढकालले बताइन् ।

प्रकाशित मितिः   २६ असार २०८२, बिहीबार ०८:५७