समयमै रोपाइँ

यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ । यस पटक मनसुन समयमै सक्रिय भयो । मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ छिटो सुरू भयो । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा समेत रोपाइँ गरिसकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको छ । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा रोपाइँ सकिएको छ । मौसमले साथ दिएर बेलैमा धमाधम खेत रोप्न पाएपछि किसानहरू हर्षित भएका छन् ।

निर्देशनालयका अनुसार मध्यअसारसम्म सबैभन्दा बढी जुम्ला, हुम्ला र डोल्पामा रोपाइँ भएको छ । तीन वटै जिल्लामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको हो । त्यसैगरी मुगुमा ४० प्रतिशत, रुकुम–पश्चिममा ५५ प्रतिशत र जाजरकोटमा १७ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । सल्यानमा ६५ प्रतिशत, दैलेखमा ३२ प्रतिशत, कालिकोटमा ४२ प्रतिशत रोपाइँ हुँदा सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको छ । कर्णालीमा धान खेती हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २९ हजार पाँच सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादन समेत बढी हुने गरेको छ । कर्णालीमा वार्षिक तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ ।

यसपटक मलको अभाव पनि छैन । धान रोप्ने सिजनमा मलको अभाव हुन्थ्यो । हरेक वर्ष मल नपाएर किसानहरू हैरान हुन्थे । यो पटक भने मल पर्याप्त छ । असार लागेसँगै मल बिऊको पिरलो हुने किसानले यसपालि हैरानी खेप्नु परेन । सहजै रासायनिक मल उपलब्ध भएको हो । कर्णालीमा साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्री–वितरण गर्दै आएका छन् । धानलगायत उत्पादन पर्याप्त नहुँदा कर्णाली प्रदेशका केही जिल्लामा हरेक वर्ष खाद्य संकट हुन्छ । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । यसपटक भने समयमै पानी पर्दा र मलको अभाव नभएपछि धान रोपाइँ पनि समयमै सुरु भयो । समयमै रोपाइँ भएसँगै यसवर्ष उत्पादनमा पनि वृद्धि हुने आँकलन गरिएको छ ।

प्रकाशित मितिः   १६ असार २०८२, सोमबार ११:२७