‘कृषि नै समृद्धिको आधार’

सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने उनको भनाइ छ । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभइ आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषि पेसालाई विकास गर्नुपर्ने उल्लेख गरे ।

कर्णालीको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनका लागि सम्भावना बोकेको उल्लेख गर्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए । कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलको भनाइ थियो । कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मितिः   १६ असार २०८२, सोमबार ११:२६