कर्णालीमा न्यून आर्थिक प्रतिष्ठान

सुर्खेत: कर्णालीमा न्यून आर्थिक प्रतिष्ठान रहेका छन् । प्रदेशमा ठूला कलकारखाना स्थापना हुन सकेका छैनन् । बेरोजगारीको अवस्था बिकराल छ । लगानीमैत्री वातावरण नहुँदा जलविद्युत आयोजना अध्ययनमै सीमित बनेका छन् ।

आर्थिक गणना २०७५ का अनुसार दर्जनभन्दा बढी आर्थिक प्रतिष्ठान कर्णालीमा सञ्चालनमा रहेका छन् । यो अन्य प्रदेशको तुलनामा न्यून हो । तथ्यांक समन्वय कार्यालय, सुर्खेतले २०७५ मा आर्थिक गणना गरेको थियो । अध्ययनमा प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन् क्षेत्र पर्दछन् भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्दछन् । गरिएको गणनामा ६ हजार दुई सय ३५ वटा होटल व्यवासाय रहेको पाइएको छ । प्रदेशभर १३ हजार तीन सय ९८ जनशक्ति कार्यरत छन् । सबैभन्दा बढी होटल व्यवसाय सुर्खेतमा एक हजार ६ सय नौ वटा रहेका छन् । जसमा तीन हजार नौ सय २० कामदार आवद्ध छन् ।

प्रदेशभर वित्तीय तथा बिमा क्षेत्र सात सय नौ वटा रहेका छन् । जसमा पाँच हजार नौ सय ५४ जनशक्ति कार्यरत छन् । एक सय ८६ वटा बिमा सुर्खेतमा रहेका छन् । शिक्षातर्फका आर्थिक प्रतिष्ठान तीन हजार तीन सय ७४ वटा रहेका छन् । जसमा २८ हजार पाँच सय १८ जनशक्ति कार्यरत छन् । सुर्खेतमा ६ सय ६५ वटा आर्थिक प्रतिष्ठानमा सात हजार तीन सय ८० जनशक्ति आवद्ध छन् ।

यस्तै, प्रदेशमा मानव स्वास्थ्य तथा सामाजिक कार्यका प्रतिष्ठान एक हजार पाँच सय ५५ वटा रहेका छन् । जसमा पाँच हजार नौ सय ९७ जनशक्ति छन् । सुर्खेतमा एक सय ९३ प्रतिष्ठानमा एक हजार एक सय २२ जनशक्ति कार्यरत रहेका छन् । अन्य सेवा सञ्चालन गर्ने प्रतिष्ठान एक हजार ६ सय सात वटा रहेका छन् । जसमा ६ हजार चार सय ३७ जनशक्ति कार्यरत छन् । सुर्खेतमा नौ सय ३७ मा एक हजार सात सय ३७ जनशक्ति कार्यरत रहेका छन् ।

यसैगरी थोक तथा खुद्रा व्यापारका प्रतिष्ठान २२ हजार सात सय २८ रहेकोमा ४० हजार २९ जनशक्ति कार्यरत छन् । सुर्खेतमा सात हजार ७६ रहेकोमा १३ हजार दुई सय २५ जनशक्ति कार्यरत छन् । प्रदेशमा औद्योगिक उत्पादन प्रतिष्ठान चार हजार चार सय २८ वटा रहेका छन् । उक्त प्रतिष्ठानमा नौ हजार आठ सय ८३ जनशक्ति कार्यरत रहेका छन् । सुर्खेतमा एक हजार एक सय ९५ प्रतिष्ठान रहेका छन् भने तीन हजार पाँच सय ३५ जनशक्ति कार्यरत रहेका छन् । कृषि वन तथा माछापालन व्यवसाय प्रतिष्ठान एक हजार पाँच सय ९० वटा रहेका छन् । ती प्रतिष्ठानमा चार हजार तीन सय २४ जनशक्ति कार्यरत छन् । सुर्खेतमा दुई सय ५३ प्रतिष्ठान तथा पाँच सय ५७ जनशक्ति कार्यरत रहेका छन् ।

तथ्यांक समन्वय कार्यालय सुर्खेतले दोस्रो आर्थिक गणना गर्न लागेको छ । पहिलो आर्थिक गणना २०७५ सालमा गरिएको थियो । पाँच÷पाँच वर्षमा आर्थिक गणना हुनेभएपनि ढिला मात्र आर्थिक गणना गर्न लागिएको छ । आगामी आर्थिक वर्षबाट गणना सुरु गरिने कार्यालय प्रमुख विनोद आचार्यले बताए । उनका अनुसार दोस्रो आर्थिक गणना गर्न लागिएको हो । प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन् क्षेत्र पर्दछन् भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्दछन् । कर्णालीमा ठूला उद्योग तथा कलकारखाना नभएकाले सेवा क्षेत्र र कृषि, वन तथा खानी–खनिज क्षेत्रको योगदान बढी रहेको छ ।

 

आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान

यसैबीच कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्य अनुसार ४.७४ प्रतिशत रहने अनुमान गरिएको हो । राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौंले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमानअनुसार कर्णालीको अर्थतन्त्रको आकार, अर्थात् कुल गार्हस्थ्य उत्पादन, दुई खर्ब ५५ अर्ब ५९ करोड रूपैयाँ हुने अनुमान गरिएको छ । यो देशको सबैभन्दा सानो आकारको अर्थतन्त्र हो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब सात अर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्यांक समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि रहेको जानकारी दिए । राष्ट्रिय वृद्धिदर ४.६१ प्रतिशत रहेकोमा कर्णालीको ४.७४ प्रतिशत रहेको उनले बताए । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दो अवस्थामा रहेकाले अवस्था सन्तोषजनक रहेको उनले बताए । ‘७ वटै प्रदेशमध्ये कर्णालीको अर्थतन्त्रको आकार सबैभन्दा सानो छ,’ उनले भने । कर्णालीको विगत तीन वर्षको अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर बढ्दो क्रममा देखिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा दुई खर्ब ३० अर्ब रूपैयाँ रहेको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८०/०८१ मा दुई खर्ब ५० अर्ब रूपैयाँ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ मा दुई खर्ब ५५ अर्ब रूपैयाँ पुगेको जानकारी पनि आचार्यले दिएका छन् । देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.२ प्रतिशत रहेको छ । कर्णालीमा सेवा क्षेत्रको सबैभन्दा धेरै योगदान रहेको छ । सेवा क्षेत्रको योगदान ५८.९ प्रतिशत, प्राथमिक क्षेत्रको ३१.७ प्रतिशत र द्वितीय क्षेत्रको ९.४ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा आवास तथा भोजन, थोक तथा खुद्रा व्यापार, सूचना तथा सञ्चार, घरजग्गा कारोबार र अन्य सेवा समेटिएका छन् ।

प्रकाशित मितिः   १६ असार २०८२, सोमबार ११:२३