सहमतिपछि उठ्यो वीरेन्द्रनगरको फोहोर

सुर्खेतः पाँचदिनदेखि थन्किएको वीरेन्द्रनगरको फोहोर उठेको छ । सहमतिपछि कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको फोहोर शुक्रवारदेखि उठेको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नंं. १ का स्थानीयहरूले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साइटमा प्रवेशमा रोक लगाएका थिए । स्थानीय प्रभावितहरूले उठाएका मागहरू वडा समितिमार्फत कार्यपालिका हुँदै नगर सभाबाट २०८२÷०८३ मै कार्यान्वयन हुने जनाइएको छ । वडाका मागहरू वडाबाट कार्यपालिका हुँदै नगर भेलामार्फत सम्बोधन गर्ने लिखित सहमतिपछि फोहोरका गाडी चल्न थालेको संघर्ष समितिका संयोजक बलभद्र पुरीले बताए ।

बाटोमा फोहोर देखिन थालेपछि नगरपालिकालाई पटक–पटक खबरदारी गरे पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको पुरीको भनाइ छ । उनका अनुसार फोहोर व्यवस्थित रूपमा फाल्नुपर्ने, वडा नं. १ को फोहोर उठाएको शुल्क लिन नहुने, फोहोर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो कालोपत्रे हुनुपर्ने, गंगटे खोलामा पुल बनाउनुपर्ने, फोहोर तोकिएको ठाउँमा नै बिसर्जन गर्नुपर्ने लगायतका माग संघर्ष समितिले नगरपालिकासँग राखेका छन् । नगरपालिकाले माग सम्बोधन गर्ने भनेपछि वीरेन्द्रनगरको फोहोर पाँचदिनपछि उठेको हो ।

 

बल्झिरहने समस्या

फोहोर व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रका नागरिक बेला–बेला आन्दोलित भइरहन्छन् । फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले विरोध जनाउने गरेका हुन् । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि उनीहरूले आइतवार फोहोर लिएर गएका गाडीबीच बाटोमै रोकेका थिए । शुक्रवार नगरपालिकासँगको सहमतिपछि गाडी जान दिएका छन् । जहाँ त्यही फोहोर फाल्दा दुर्गन्ध गाउँसम्म आएको र फोहोरमैला व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ स्थित तारेभिर नजिकै फोहोर फाल्दै आएको छ । अधिकांश फोहोर त्यहाँ नपुग्दै बाटोमै फाल्ने गरिएको भेटिएको हो । फोहोर व्यवस्थापनमा नगरपालिका बेखबर बनेको स्थानीयको आरोप छ । अहिले संघर्ष समिति नै बनाएर प्रभावित क्षेत्रका नागरिकले खबरदारी गर्ने गरेका छन् । वीरेन्द्रनगर–१ स्थित सिर्जना टोल र गंगटे खोलालगायतका स्थानमा फोहोरको थुप्रो लागेको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोला खाप्सामा फाल्ने गरिएको हो । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ को माथिल्लो क्षेत्र प्रभावित बनेको छ । सोही ठाउँका गणेश गुरुङले सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्नसमेत समस्या भइरहेको बताए ।

पानीका मुहान दुर्गन्धित बनेको, फोहोरले गर्दा गाईवस्तुले समेत जंगलको घाँस खान छोडेको तथा महामारी फैलने सम्भावना बढेको उनको भनाइ छ । ल्याण्डफिल्ड साइट निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभावी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको छ । वीरेन्द्रनगर नगरपालिकाले दीर्घकालिन रूपमा समस्या समाधान हुनेगरी योजना बनाउनुपर्ने स्थनीयहरूको भनाइ छ । नगरमा जनसंख्या दिनप्रतिदिन बढिरहेको छ । निर्माण गरिएको ल्यान्डफिल्ड साइड प्रभावकारी देखिएको छैन ।

वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट संकलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्तीसमेत दुर्गन्धित बन्दै गएको छ । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताइन् । जथाभाबी रूपमा फोहोर फाल्दा हिँड्डूल गर्न समेत समस्या भएको उनको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

जथाभाबी फोहोर जलाउँदा दैनिक कामकाजमा समेत बाधा पुगेको अर्का स्थानीय निर्मला थापा बताउँछिन् । धुँवाले गर्दा आखा पोल्ने लगायतका समस्या देखिएको भन्दै उनले दिनप्रतिदिन कामका असहज भइरहेकोे जनाइन् । ‘दुर्गन्ध फैलिएर घरमा बसीसक्नु हुँदैन । मेलापातदेखि बजारतिर जादासमेत धौ–धौ हिँड्नुपर्छ’ थापाले भनिन्, ‘प्लाष्टिक जलाउँदा धुँवाले हैरानी खेप्न बाध्य छौँ ।’ प्लाष्टिक र बोतलबाट निस्कने धुँवा मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । तर त्यहाँ दैनिक रूपमा फोहोर जलाउने गरिएको उनले बताइन् । प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईवस्तु एवम् कृषिउपज, वातावरणमा नै नकरात्मक असर परेको जनाइएको छ । प्रभावित क्षेत्र बराहताल–१० का वडा अध्यक्ष हरिलाल सलामीले गर्मीयाम सुरु भएसँगै दुर्गन्ध झनै फैलिएको बताए । वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभाबी फाल्ने गर्दा स्थानीयवासीको स्वास्थ्यमा असर परेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०८२, शनिबार १३:३०