विपद् सूचना अभिलेखिकरणसम्बन्धी तालिम
सुर्खेतः विपद् पोर्टल सञ्चालन र स्थानीयकरणसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग, युएनडीपी, युनिसेफ, युएनयुमनको प्रविधिक सहयोग र सुन्दर नेपाल संस्थाको स्थानीय सहजीकरणमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी सुपर–२ परियोजना अन्तरगत सुर्खेत जिल्लाको विपद् पोर्टल सञ्चालन र स्थानीयकरण विषयक तालिम दिइएको हो ।
बिहीवार र शुक्रवार दुई दिनसम्म चलेको तालिममा सुर्खेत जिल्लाका आठवटा पालिकाहरूको विपद् सम्पर्क व्यक्ति तथा सूचना प्रविधि अधिकृतहरू, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्तिहरूलगायत सुन्दर नेपाल संस्था र रेडक्रसका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
क्षमता विकास तालिममा विपद् सूचना प्रणालीलाइ व्यवस्थापन र अधावधिक गर्नको लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार गरिएको विपद् पोर्टलअन्तर्गत विभिन्न ड्यासवोर्डको बारेमा व्यावहारिक अभ्याससहित विपदका घटनाहरूको अभिलेखिकरण गर्न सहजिकरण गरिएको थियो । विपद्का घटनाहरूको लेखाजोखा गर्न स्थानीय तह, प्रदेश सरकार र जिल्ला आपतकालिन सञ्चालन केन्द्र जिम्मेवार हुने भएकोले आगामी दिनमा यस तालिमले विपदका तथ्याङ्क अभिलेखिकरण गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार १३:३४
साझा बिसौनी ।