आम्दानीको स्रोत आलु

कृषिप्रधान मुलुक भएपछि नेपाल परम्परागत कृषि प्रर्णालीमै निर्भर छ । यद्यपि, पछिल्ला वर्षहरूमा आधुनिक र व्यावसायिकताको विकास हुँदै गएको छ । परम्परागत कृषिलाई आम्दानीको स्रोतका रूपमा विकास गरिँदैछ । जसको एक उदाहरण हो, दैलेखको गुराँस गाउँपालिकामा स्थानीय कृषकहरूले गरिरहेको आलु खेती । गुराँस गाउँपालिका वडा नं. ५ का रानीमत्ता, कान्छीबजार, लहरा र नयाँ खर्क लगायत गाउँमा सबैजसो किसान आलुखेती गर्छन् । यो वडाका बासिन्दाको आम्दानीको मुख्य स्रोत आलुखेती नै हो । वडा नं.५ आलुखेतीका लागि प्रसिद्ध भएको छ । यहाँ आलुका साथै काउली, बन्दागोभी, भाजी, स्याउ, किवी, ओखर लगायत खेती हुने गरेको छ । यहाँको धेरैजसो आलु सुर्खेत,दैलेख,बाँके, बर्दिया केही नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौं पनि पुग्छ ।

कृषकहरू परम्परागत रूपमा हुने आलु खेतीलाई विस्तार गर्दै लगेका छन् । सामान्य किसानी गर्नेहरूले पनि पछिल्लो समय क्विन्टल बढी आलु उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । जस्तो कि गुराँस गाउँपालिका वडा नं. ५ बडाकाँडाका कृषक खड्क केसी करिब १६ रोपनी पाखो खेतबारीमा आलु रोप्छन् । एक वर्षमा एउटै सिजन आलु उत्पादन हुन्छ । उनका अनुसार यहाँका किसानका लागि मुख्य सिजन बर्खे हो । उनले फागुन २५ मा आलु रोपिसकेको हुन्छन् । भदौ अन्त्यतिर खनिसक्छन् । त्यसपछि असोजमा फेरि आलु र बन्दागोभी लगाउँछन् । गाउँमा आलुबाट राम्रो आम्दानी गरेको देखेपछि आलु खेतीमै लागेको उनले सुनाए । मेहनत गर्दा आफ्नै ठाउँमा पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने थाहा हुँदै गएपछि व्यावसायिक रूपमा आलु खेती गरिरहेको उनले बताए । आलुको व्यावसायिक खेती हुन थालेपछि यहाँका मानिसको जीवनमा ठूलो परिवर्तन आएको छ । विगतमा यहाँ सबैजसो घरबाट कोही न कोही भारत र अरू देशमा कमाउन जाने चलन थियो । आजकाल लगभग रोकिएको छ । जसको मुख्य कारण हो आलुले दिने आम्दानी । आलुले आम्दानी दिन थालेपछि स्थानीयहरू गाउँमै स्वरोजगार बनेका छन् ।

उत्पादित आलुले सहजै बजार पाएको छ । गाउँमा बाटो पुगेपछि यहाँका किसान व्यावसायिक रूपमा आलुखेतीमा लागेका हुन् । गाउँका सबै किसान आलुखेतीमा लागेपछि बिक्री सहज भएको छ । किसानहरू बजार पुग्नु पर्दैन । व्यापारीहरू गाउँमै आउँछन् र थोकमा लैजान्छन् । किसानहरूका अनुसार व्यापारीलाई एकसाथ थोकमा बेच्दा राम्रो लाभ हुने गरेको छ । चिस्यान केन्द्र (कोल्ड स्टोर) मा राख्न जानु पनि पर्दैन । बिग्रिने डर पनि हुँदैन । वडामा मात्रै एक हजारभन्दा बढी घरपरिवार आलुखेती गर्छन् । एक सिजनमा एक परिवारले आलुबाट कम्तीमा एक लाख रूपैयाँ आम्दानी गर्छन् ।

प्रकाशित मितिः   २१ जेष्ठ २०८२, बुधबार ११:१८