पूर्वाधार विकासमा फड्को

सुर्खेत: अन्य प्रदेशसँगको तुलनामा कर्णाली प्रदेश अझै पनि विकासमा पछि छ । यद्यपि, विगतसँगको तुलनामा गर्ने हो भने गणतन्त्र स्थापनापछिको अवधिमा कर्णालीले पूर्वाधार विकासमा फड्को मारेको छ ।
अहिले प्रदेशका सबै जिल्लामा न्यूनतम् सडक पूर्वाधार पुगिसकेको छ । २०६२/०६३ को जनआन्दोलनका बेलासम्म साविक कर्णालीका सबै जिल्लामा गाडी पनि पुगेको थिएन । २०६३ चैतपछि मात्रै कर्णाली राजमार्ग हुँदै जुम्लासम्म गाडी पुग्यो । यही जनआन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत मुलुकमा सात वटा प्रदेश कायम गरिएका छन् । प्रदेश सरकार र स्थानीय सरकारको सक्रियतासँगै पूर्वाधार विकासमा सुधार हुँदै गएको छ ।
गणतन्त्रपछि कर्णालीले मुहार फेरेको नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष विमला केसी बताउँछिन् । गणतन्त्रको सुन्दर पक्षको रूपमा संघीयतालाई लिन सकिने उनको भनाइ छ । गाउँ–गाउँबाट प्रशासनिक काम भइरहेको, भौतिक पूर्वाधार विकास तीव्र गतिमा भइरहेको, राष्ट्रिय गौरवका आयोजनाले प्राथमिकता पाएको उनले बताइन् । गणतन्त्रको सुन्दर पक्ष भनेको नै घरआगनबाट नागरिकले सेवा पाउनु रहेको उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष ठेगेन्द्र पुरी पनि गणतन्त्रपछि नागरिकले आफ्नो विवेकको प्रयोग गर्न पाएको बताउँछन् । उनले नागरिकले स्वतन्त्र रूपमा राजनीतिक तथा आर्थिकलगायतका विषयमा वकालत गर्न थालेसँगै जनताको बोलीको समेत कदर हुन थालेको जनाए । ‘नागरिकले आफ्नो विचार व्यक्त थालेसँगै केही परिवर्तन पनि भएको छ, नागरिक जागरुक भएका छन् यो गणतन्त्रको सुन्दर पक्ष हो’ पुरीले भने ।
यस्तै नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही जनताले गणतन्त्रको अनुभूति गर्न पाएको बताउँछन् । यद्यपि, गणतन्त्र आइसकेपछि कर्णालीमा सामाजिक रूपमा केही परिवर्तन भए पनि विकास र जनताको अवस्थामा सुधार हुन अझै बाँकी रहेको उनको भनाइ छ । शाहीका अनुसार समानुपातिक रूपमा जुन रूपमा विकास हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । तर जनताले अनुभूति हुनेगरी काम भएको छ । राजनीतिक नेतृत्वका हिसाबले पनि जसरी कर्णालीले केन्द्रमा पहुँच वृद्धि गर्न सक्नुपथ्र्यो त्यो नभएको उनको भनाइ छ ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले गणतन्त्रपछि प्रदेश सरकार, स्थानीय सरकार बनेसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको बताए । जनताले घर आगनबाटै सरकारको अनुभव गरिरहेको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको जोड छ ।
सडक र पुलमा प्रगति
संघीयता कार्यान्वयनमा आइसकेपछि पूर्वाधार विकास तीन तहकै सरकारको पहिलो प्राथमिकतामा परेको छ । १० वर्षअघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर आँसु–पसिना चुहाउँदै नुन–चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर घरदैलोमै पाउन थालेका छन् । तिनै तहका सरकारको पहलकदमीका कारण गाउँ–गाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा सुधार आएको छ ।
सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार अहिलेसम्ममा कर्णाली प्रदेशमा नौ हजार ६८६.६२ किलोमिटर सडक बनेको छ । जुन नेपालको कुल सडकको १२.४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारीसाधन गुड्न थालेका छन् । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार कर्णालीमा संघीयतापछि मात्र सडकमा राम्रो प्रगति भएको हो । प्रदेश सरकार गठन भएपछि दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म गरेर दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले ३३ किलोमिटर सडक कालोपत्रे गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा १५.९ किलोमिटर सडक कालोपत्रे भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २०७९/०८० मा ३०.३ किलोमिटर, २०८०/०८१ मा सबैभन्दा बढी ९४.८ किलोमिटर सडक कालोपत्रे भएको मरहट्टाले बताए । चालु आर्थिक वर्षको हालसम्म २६.३६ किलोमिटर सडक कालोपत्रे भएको छ ।
यी सडक प्रदेश सरकारले मात्र निर्माण गरेको हो । संघीय तथा स्थानीय सरकारले समेत धेरै सडक निर्माण गरेका छन् । पछिल्लो सात वर्षको अवधिमा प्रदेश सरकारले ६ सय ५६ किलोमिटर सडक खण्डमा ग्राभेल गरेको छ । दुई आर्थिक वर्षमा भने ग्राभेलको काम भएको थिएन । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सडक ग्राभेलको काम नभएको हो । आर्थिक वर्ष २०७७/०७८ मा दुई सय किलोमिटर सडकखण्ड ग्राभेल भएको थियो । २०७८/०७९ मा एक सय १३ किलोमिटर, २०७९/०८० मा एक सय २० किलोमिटर र २०८०/०८१ मा एक सय ८६ किलोमिटर सडक ग्राभेल गरिएको थियो । चालु वर्षको हालसम्म ३६ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
प्रकाशित मितिः १७ जेष्ठ २०८२, शनिबार ०५:०५
रजनी याेगी ।