शिव माविमा स्वास्थ्य शिविर

सुर्खेत: शिव माध्यमिक विद्यालय धुलियाविटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । विद्यालयको वार्षिक कार्ययोजनाअन्तर्गत शुक्रवार स्वास्थ्य शिविरसहित रक्तदान गरिएको हो । शिविरमा आँखा, कान, दाँत, रक्तचापलगायत परीक्षण गरिएको थियो । जसबाट तीन सयभन्दा बढीले लाभ लिएको विद्यालयले जनाएको छ । त्यसैगरी २१ जनाले रक्तदान पनि गरेका छन् ।

विद्यालयका प्राधानाध्यापक पूर्णप्रसाद पौडेलले विद्यालयले आफ्नो कार्ययोजनामा शैक्षिक क्रियाकलाप सँगसँगै सामाजिक उत्तरदायित्वका कामहरु गर्ने योजना समावेश गरेको र सोहीअनुसार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा पनि यस्ता गतिविधि गर्दै जाने उनको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा, ११ नम्बर वडा कार्यालय, प्रदेश अस्पताल, नेपाल रेडक्रस सोसाइटी, बिएन हस्पिटल नेपालगञ्जलगायतको समन्वयमा शिविर आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यता, वडा अध्यक्ष खिमलाल देवकोटालगायतको सहभागिता रहेको विष्णुप्रसाद तिवारीले जानकारी दिए ।

 

प्रकाशित मितिः   १७ जेष्ठ २०८२, शनिबार ०५:०४