रित्तिदै गाउँ

पछिल्लो समय गाउँहरू रित्तिदै गएका छन् । सुविधाको खोजीमा गाउँबाट मानिसहरू शहरतिर सर्छन् । केही पढाइ र रोजगारीका लागि गाउँ छोड्छन् । खासगरी युवाहरू विदेशिने क्रमले पनि बस्तीहरू रित्तिदै गएका छन् । रोजगारीका लागि पुरुषहरू बढी विदेशिने हुँदा गाउँघरमा पुरुषहरूको संख्या कम छ । युवा गाउँमा छैनन् । भएका पुरुष पनि बुढापाका मात्रै छन् । पुरुष युवाहरू पढाई र रोजगारीका लागि कि शहरतिर छन् कि विदेशतिर हिँडेपछि गाउँमा आइपर्ने सबै जिम्मेवारी महिलाको काँधमा आएको छ ।

 

हिजोआज पुरुषहरू भेट्न मुस्किल पर्छ । धेरैजसो रोजगारीका लागि भारत लगाएका देशमा गएका छन् । भएका पनि ज्याला मजदुरीको काममा जान्छन् । कर्णाली प्रदेशको राजधानीमै रहेका अलिक ग्रामीण बस्ती समेत पुरुषविहीनजस्तै बन्न पुगेका छन् । गाउँमा पुरुषको नाममा बालक र वृद्ध मात्र देखिन्छन् । केही वर्षअघि निकै भीडभाड र चहलपहल हुने गाउँ युवा बाहिरिएसँगै सुनसान हुन थालेको छ । गाउँमा पुरुष नभएपछि कामकाजका लागि महिला खटिने गरेका छन् । सबै काम महिलाको काँधमा छ । युवाको अनुहार हेर्न पाउनु मुस्किल बनेको छ । घरैपिच्छेका पुरुषहरू विदेश छन् । पुरुष नभएपछि गाउँमा खेत जोत्न र श्रमदानमा समेत समस्या हुने गरेको छ । विगतमा पुरुषहरूले बढी गर्ने सार्वजनिक काममा हिजोआज महिला अघि सर्नु र जिम्मेवारी लिने आफैमा सुखद् पक्ष हो । बाटोघाटो, वन, भवनलगायतको काममा महिला नै जाने गर्छन् । यद्यपि, विभिन्न कारणले गाउँ नै युवा र पुरुषविहीन हुनुले भने अप्ठ्यारा निम्त्याइरहेको अनुभव स्थानीयको छ ।

 

कर्णाली प्रदेशमा रोजगारीका पर्याप्त अवसर छैनन् । आर्थिक रूपमा विपन्न कर्णाली औद्योगिक विकासमा पनि सबैभन्दा पछाडि छ । जसका कारण यहाँका अधिकांश नागरिक रोजगारीका लागि कालापहाड (भारत) सँग निर्भर रहेको पाइएको छ । रोजगारीमूलक औद्योगिक प्रतिष्ठानको अभाव, मौसमी कृषि पेशामा आधारित आर्थिक अवस्था, अति विकट भू–धरातल र विपन्नताका कारण कर्णालीको ठूलो श्रमशक्ति रोजगारीका लागि भारतीय बजार (कालापहाड) जाने गरेको पाइएको हो । नेपालीका लागि भारतको रोजगारी अमर्यादित, अव्यवस्थित र अस्थायी प्रकृतिको रहेको बताइन्छ । तर कर्णालीका नागरिक भने रोजगारीका लागि भारतमै निर्भर रहँदै आएका छन् । कर्णालीबाट रोजगारीका लागि तेस्रो मुलुकसम्म पहुँच कम छ । अन्य प्रदेशको तुलनामा विपन्न कर्णाली प्रदेशबाट श्रम स्वीकृत लिनेको संख्या ज्यादै न्यून रहेको छ । सुविधा र अवसरको खोजीमा शहर बसाइँसराइले होस् या रोजगारीकै लागि अधिकांश पुरुषहरू बाहिरिँदा ग्रामीण बस्तीको सामाजिक जीवन भने असहज बन्दै गएको छ ।

प्रकाशित मितिः   १६ जेष्ठ २०८२, शुक्रबार ०५:०३