संघीय बजेट १९ खर्ब ६४ अर्ब

कर्णालीका ठूला आयोजना समावेश

सुर्खेत: संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो ।

आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा चार खर्ब १७ अर्ब ८३ करोड रूपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा चार खर्ब आठ अर्ब २७ करोड रूपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजश्वबाट सरकारले १३ खर्ब १५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजश्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको थियो । आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

बजेटमा कर्णाली प्रदेशका महŒवपूर्ण आयोजनाहरू समावेश गरिएको छ । आगामी वर्षभित्रै दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य सम्पन्न गरेर नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिने जनाइएको छ । सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने समेत जनाएको छ । पर्यटन विकासकै लागि कर्णाली र भेरी नदीमा र्‍याफ्टिङसहित पर्यटन गतिविधि गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

बजेटमा उल्लेख भएअनुसार सुर्खेतमा स्तरोन्नतिसहित प्रादेशिक विमानस्थल विकास गरिने छ । आगामी आर्थिक वर्षमा त्यसका लागि आवश्यक पूर्वतयारी सम्पन्न गरेर निर्माण कार्य थालनी गरिने जनाइएको छ । सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिको योजना विगत लामो समयदेखि चर्चामा रहँदै आएको छ । तर अघि बढ्न सकेको छैन ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष नै आयोजना हुनुपर्ने खेलकुद प्रतियोगिता तीन पटक सरिसकेको छ । प्रतियोगिता आयोजना गर्न सुर्खेतमा प्रादेशिक रंगशालासहितका पूर्वाधार निर्माण भइरहेका छन् ।

यसैगरी ऊर्जा विकासतर्फ पनि सरकारले कर्णालीका ठूला आयोजनालाई बजेटमा समावेश गरेको छ । जसअनुसार जाजरकोटको नलगाड जलविद्युत आयोजना अघि बढाउने बताइएको छ भने । फुकोट कर्णाली जलविद्युत आयोजना र मुगु कर्णाली जलविद्युत आयोजनाका लागि लगानी ढाँचा निर्धारण गरेर आगामी वर्षबाटै निर्माण कार्य आरम्भ गर्ने उल्लेख गरिएको छ ।

कर्णालीको अर्को महŒवपूर्ण आयोजनाका रूपमा रहेको कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन विस्तारलाई पनि बजेटले प्राथमिकता दिएको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३३ केभी प्रसारण लाइनलाई स्तरोन्नति गरेर १३२ केभी बनाउने कार्य आरम्भ भने भइसकेको छ । यस्तै भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स र पावर हाउस निर्माण गर्न दुई अर्ब सात करोड विनियोजन गरिएको छ । यो आयोजना पनि अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

पूर्वाधार विकासतर्फ सडक आयोजनाहरू पनि सरकारको प्राथमिकतामा परेका छन् । कर्णाली करिडोर स्तरोन्नति गर्न एक अर्ब २७ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्च खण्ड स्तरोन्नति गरिनेछ । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–खुलालु–कालिकोट–जुम्ला सडक र सुर्खेत–महाबुलेक–नाग्मा–गमगढी सडक स्तरोन्नति गरिनेछ ।

ताल्चा–रारा सडक कालोपत्रे गर्नेदेखि केरी करिडोर र रत्न राजमार्ग स्तरोन्नति गर्न पनि सरकारले बजेट विनियोजन गरेको छ । त्यस्तै बबई–छिञ्चु सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने जनाइएको छ भने रानीघाट–भुरीगाउँ सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने छ । सुर्खेतको भेरी पम्पिङ खानेपानी आयोजना दुई वर्षभित्र सम्पन्न गर्न एक अर्ब ३२ करोड विनियोजन गरिएको छ । यसरी कर्णाली प्रदेशका ठूला आयोजनाहरूलाई संघीय सरकारले आगामी वर्षको बजेटमा समेटेको छ ।

 

प्रकाशित मितिः   १६ जेष्ठ २०८२, शुक्रबार ०५:०५