ऐतिहासिक गढी संरक्षण गरिँदै

सुर्खेत: ऐतिहासिक गढी संरक्षण गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ मा रहेको गढीको पुनर्निर्माण थालिएको हो । पुरातत्व विभागको क्षेत्राधिकारमा पर्ने गढीलाई हेर्न लायक बनाउन पुनर्निर्माण सुरु गरिएको छ ।

विभागले चालु आर्थिक वर्षमा गढी पुनर्निर्माणका लागि सात लाख बजेट विनियोजन गरेको छ । छरपष्ट रहेको गढीलाई अन्तिम स्वरूप दिन अहिले निर्माणको काम थालिएको हो । नेपाली सेनाको कपासे ब्यारेकले हाल निर्माण व्यवसायीलाई जिम्मा दिएर काम थालेको छ । आर्थिक वर्ष २०८१÷०८२ को जेठ मसान्तसम्म काम सक्नेगरी सेनाले याम जी कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ । उत्खननसँगै हेर्न लायक गढी निर्माणको काम भइरहेको कन्ट्रक्सनका सञ्चालक रेशम ढकालले बताए । गढीको यकिन लिखित संरचना नभएकाले विभागले भनेअनुसारकै गढीको काम भइरहेको ढकालले जानकारी दिए । ‘गढीमा कुनै बेला हतियार राख्ने खोपासहितको संरचनामा निर्माणको काम थालेका छौँ,’ ढकाल भन्छन्, ‘लामोसयसम्म गढीको संरक्षणको काम हुन सकेको थिएन, जेठसम्ममा सक्नेगरी निर्माणको काम भइरहेको छ ।’

आन्तरिक तथा बाह्य पर्यटक समेत गढीको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसको संरक्षण नहुँदा गढीको अस्तीत्व संकटमा पर्दै गएको छ । सरकारले यो वर्ष केही निर्माणको काम भने थालेको छ । थालिएको कामले मात्र गढी संरक्षण नहुँने त्यहाँका स्थानीय नवराज रोकाया बताउँछन् । उनका अनसार पहिलेका संरचना क्षतविच्छेद बनेका छन् । अन्य संरचनाको समेत सोधखोज गरेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

गढी समुद्री सतहदेखि एक हजार पाँच सय २२ मिटर उचाइमा अवस्थित छ । बयलकाँडा गढीमा कुनै समय सुर्खेतको सदरमुकाम थियो । २०१९ सालमा औलो उन्मुलनका लागि कार्यालय स्थापना भएको र गढीमा रहेका सरकारी कार्यालयमा २०२३ मा वीरेन्द्रनगर उपत्यकामा सारिएको थियो । बाइसे–चौबिसे शासनकाल, राणाकाल र पञ्चायतको प्रारम्भमा बाक्लो बस्ती, मानिसहरूको चहलपहल रहेको गढी क्षेत्र जब सुर्खेतमा औलो उन्मुलन भयो तब क्रमशः सुनसान बन्दै गयो । सुर्खेत उपत्यकामा २०२२ सालमा औलो उन्मुलन घोषणा भएको थियो ।

त्यसअघि उपत्यकाको तल्लो क्षेत्रमा राजी र थारु जातिको मात्र बसोबास थियो । गोठीकाँडाका केही अगुवाले उपत्यकामा गरिने खेतीबालीको सहयोगका लागि दाङबाट थारु जातिका मानिस झिकाएका थिए । २०२३ को मंसिरतिर गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरू पनि उपत्यकामा स्थानान्तरण भए । कट्कुवा, कपासे क्षेत्रको पुरै बस्तीलाई स्थानान्तरण गरी त्यहाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो । बयलकाँडा टाकुरामा ऐतिहासिक गढीमा लामो समयदेखि भग्नावशेष रहेको थियो । यो पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । गढी बाइसे–चौबिसे राज्यकालमा बनेको अनुमान छ । गढीको केही दुरीमा फाटफुट अक्षर देखिने ढुंगाका खम्बाहरू गाडिएका छन् ।

यो त्यतिबेला दैलेख बेलासपुर राज्यको अधिनस्थ थियो । गोर्खाली फौज र बेलासपुरे राजाका फौजबीच लडाइँ हुँदा गढी भत्किएको हुन सक्ने अनुमान बाहेक लिखित दस्तावेज हालसम्म भेटिएका छैनन् । गढीमा अवस्थित स्तम्भमा लेखिएको छ, ‘साके १७१२ मा फेरि कालु पाँडे, सरदार सत्रुघन शाही कम्पनी २ ली कास्कीका द्धान्या जैभत्र बोहरा थर घर उमराली सुर्षेत दैलेखका लडायी जीती दैलेख सर गरी कर्नालीमा खाडो पखाली नेपाल गया ।’ यो लेखोटले युद्धभन्दा अघि र पछि पनि युद्ध भएको अनुमान गर्न सकिन्छ । बहादुर शाहका पालामा बेलासपुर राज्य कब्जा गरिएको थियो । किनकी यो बेलासपुर राज्यको अधिनमा थियो । अन्यत्रका गढीको इतिहास हेर्दा यो गढीको पनि नेपाल एकिकरणकै क्रममा भत्काइएको अनुमान गर्न सकिन्छ ।

गढीकै नामबाट साविक गाउँ विकास समितिको नामकरण गरिएको थियो । यहाँबाट वीरेन्द्रनगर उपत्यकासँगै बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न बस्तीलाई नियाल्न सकिन्छ । सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ । हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मी याममा चिसो हावा चल्ने हुँदा वीरेन्द्रनगरबाट गर्मी छल्न अधिक मानिसहरू त्यहाँ पुग्ने गर्छन् । शनिवार र बिदाका दिन गोठीकाँडा क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

यो क्षेत्र यो स्थान पर्यापर्यटनमा रमाउन मात्र नभइ इतिहासका विद्यार्थी र अन्वेषकका लागि समेत भ्रमणयोग्य रहेको छ । जब बेलापुर राज्य र दुल्लू राज्यका बीच मनमुटाव भयो अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त पारिएको हुनसक्ने अनुमान गरिन्छ ।

गढी संरक्षणका लागि तारजाली लगाइएको छ । नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सेनाले यसको प्रवेशद्वारमा पृथ्वीनारायण शाहको प्रतिमा बनाएको छ । जसले यस क्षेत्रको शोभा बढाएको छ । गोठीकाँडा क्षेत्र पुग्न सुर्खेत–दैलेख सडकअन्तर्गत छेडाबाट पश्चिमतर्फ मोडिनुपर्छ । दैलेख सडकको जिरोप्वाइन्ट इत्राम कपासेदेखि छेडाको दुरी ७ किमी छ । वीरेन्द्रनगर १ टेम्पो पार्क–बराहताल गाउँपालिका–१० सलेना हुँदै वैकल्पिक सडक निर्माण गरिएको छ ।

कुनै बेलाको राज्य सञ्चालनको केन्द्र, प्रशासनिक केन्द्र सुर्खेत उपत्यका (वीरेन्द्रनगर) को विकास क्रमसँगै ओझेलमा पर्दै गयो । अधिक मानिसहरू बसाइँ सर्न थालेपछि यो ठाउँ विकासका अभियानबाट वञ्चित हुन पुग्यो । कुनैबेलाको विकसित ठाउँ हाल पिछडिएको, आधुनिक विकास संरचनाबाट ठगिन पुगेको छ । सडक पुरै कालोपत्रे भइसकेको छैन । पछिल्ला वर्ष त्यहाँको मुख्य समस्या खानेपानी बनेको छ । सरकारले बेला–बेलमा संरक्षणको योजना बनाएको भएपनि यसले पूर्णता भने पाउन सकेको छैन । अहिले पनि निर्माणको काम भने भइरहेको छ ।

प्रकाशित मितिः   १० जेष्ठ २०८२, शनिबार १०:४५